भोजपुरका सांसद सुदन किराँतीले मैदान छाडे: भोजपुरमा ध्रुव र धरानमा हर्कलाई सहयोग गर्ने


काठमाडौं। प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरका सांसद सुदन किराँतीले मैदान छाडेका छन्। विघटित संविधानसभामा सदस्य किराँतीले मैदान छाडेर भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुव राईलाई सहयोग गर्ने भएका छन्।

२०७९ सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका किराँती नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको सहयोगमा प्रतिनिधिसभा सदस्य बनेका थिए। उनी माओवादी छाडेर जनार्दन शर्मासँगै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भन्ने पार्टी खोलेका थिए। उक्त पार्टीबाट धरान वा भोजपुरबाट चुनाव लड्ने भनेर चर्चामा रहेका किराँती चुनाव नलड्ने निर्णयमा पुगेका छन्। किराँतीको पार्टीले भोजपुरमा ध्रुव राई र धरानमा हर्कराज राईलाई सहयोग गर्ने घोषणा गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा पशुपतिको शिवस्व खाएको आरोप लागेका किराँती चुनाव नै लड्न नसक्ने अवस्थामा पुगेका छन्। तत्कालीन राज्यमन्त्री सुशीला शिर्पालीले समेत सुदनले शवदाह गृहमा घूस (शिवस्व) खाएको आरोप लगाएकी थिइन्। बालागुरू षडानन्दको पवित्र भूमिमा पशुपतिको शिवस्व खाएको आरोप लागेका किराँती चुनाव लड्न नसक्ने अवस्थामा पुगेका हुन्।

यस्तो छ सदन किराँतीको अपिल! 

आदरणीय सुनसरी क्षेत्र नं. १ र भोजपुर निवासी सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरु ! तपाईहरुप्रति मेरो आस्था, सम्मान र सेवा-सम्झना यथावत छ र रहने नै छ । म यस घडी तपाईंहरुलाई यो जानकारी गराउन चाहन्छु कि आगामी २१ फागुनको निर्वाचनमा मैले आफ्नो उम्मेदवारी नदिने निर्णय गरेको छु । यस क्रममा मलाई उम्मेदवार सिफारिस गर्ने प्रगतिशील लोकतान्त्रिक पार्टीको सुनसरी र भोजपुर जिल्ला कार्यसमितिलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । मैले उम्मेदवारी नदिनुका मुख्य ३ कारणहरु हुन् :

१. मलाई पटकपटक निर्वाचित गर्नुहुने भोजपुरका नागरिकहरुप्रति मुरीमुरी आभार व्यक्त गर्दछु र नयाँ पुस्ताको नेतृत्व निर्वाचित गर्न सक्नुहोस् भनेर यसपटक उम्मेदवार नबन्ने निर्णय गरेको अनुरोध गर्दछु ।

२. सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बन्दा नयाँ राजनीतिक शक्तिबीच हुने प्रतिस्पर्धाले दुवै पक्षलाई क्षति हुने र पुराना राजनीतिक दलहरुलाई लाभ पुग्ने स्वदेश तथा विदेशका शुभेच्छुक महानुभावहरुको चिन्ता र सुझावलाई आत्मसात् गरेको छु ।

३. हाम्रो प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भर्खरै मात्र जन्मिएको छ । त्यसैले यसलाई लामो राजनीतिक यात्रामा हिँडाउने उद्देश्यसहित हाल मेरो प्राथमिकतामा पार्टी निर्माणकै काम हुनेछ भन्ने जानकारी गराउँन चाहान्छु ।

साथै, राजनीतिक संवाद तथा शुभेच्छुक र जेनजी विद्रोहको मूल मर्मलाई सम्मान गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवारहरु सुनसरी क्षेत्र नं. १ का हर्कराज राई र भोजपुरका ध्रुव राईलाई हाम्रो प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट सहयोग गर्ने घोषणा गर्दछु ।

हाम्रो पार्टीलाई समानुपातिकतर्फ “आँखा” चुनाव चिह्नमा मत प्रदान गरिदिनु हुन समेत सबैमा हार्दिक अपिल गर्दै देशव्यापी निर्वाचनमा सक्रियताका साथ खट्ने वाचा गर्दछु ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ