यी हुन् अख्तियारमा बढी पर्ने गरेका उजुरीहरू


काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हानिनोक्सानीदेखि गैरकानुनी रूपमा सम्पत्ति आर्जनसम्बन्धी उजुरीहरू बढी पर्ने गरेको जनाएको छ। अख्तियारको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अख्तियार प्रमुख प्रेमकुमार राईले यस्ता प्रकृतिका उजुरी बढी पर्ने गरेको बताएका हुन्।

राईका अनुसार आयोगमा परेका उजुरीहरूमध्ये सार्वजनिक खरिद वा निर्माण, बजेट विनियोजन र अनुदान वितरणमा अनियमितता, गैरकानुनी लाभ हानी, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी, सेवा प्रवाहमा घुस/रिसवतको लेनदेन, नकक्ली शैक्षिक योग्यताको प्रमाणपत्र, राजस्व चुहावट र गैरकानुनी रूपमा सम्पत्ति आर्जनसम्बन्धी उजुरीहरू बढी रहेका छन्।

आयोगमा प्राप्त उजुरीको छानबिन वा अनुसन्धान गर्दा, बहुवर्षीय आयोजना न्यून बजेट विनियोजन गर्ने, आयोजनाको पूर्व सम्भाव्यता अध्ययन, आवश्यकता र औचित्यको पहिचान नगरी बजेट विनियोजन गर्ने, न्यूनतम् मापदण्ड नै नपुगेका आयोजनमा जथाभावी स्रोत सुनिश्चितता प्रदान गर्ने र बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा अबण्डा रकम राखी आर्थिक वर्षको बिचमा बाँडफाँड गर्ने प्रवृत्ति देखिएको प्रमुख आयुक्त राईले बताए।

सार्वजनिक निकायहरूले खरिद योजनाबिना नै खरिद कार्य गर्ने, प्रतिष्पर्धा सीमित गर्ने, बिना प्रतिष्पर्धा सोझै खरिद गर्ने प्रवृत्ति रहेको पनि प्रमुख आयुक्त राईले सुनाए। मेडिकल उपकरण, औषधिलगायतका सामग्रीको खरिद तथा सूचना प्रविधिसम्बन्धी सफ्टवेयर र उपकरण खरिद गर्दा आधारभूत पूर्वाधार समेत तयार नगरी प्रतिष्पर्धा सीमित गरी ठूलो लगानीको भएको उनको निष्कर्ष छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ