नेपाल स्वास्थ्यकर्मी सङ्घले कांग्रेसलाई दियो ४१ बुँदे स्वास्थ्य सुधारको खाका


काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले तयार पार्ने घोषणा पत्रमा स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता दिन नेपाल स्वास्थ्यकर्मी सङ्घले ४१ बुँदे सुझाव दिएको छ।

सङ्घले पेश गरेको ४१ बुँदे योजना अनुसार, सबै नागरिकका लागि निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्दै, स्थानीय तहमा आधारभूत अस्पताल र स्वास्थ्य क्लिनिक स्थापना गर्न आवश्यकता औल्याएको छ।

स्वास्थ्य बीमालाई सबै क्षेत्रका लागि अनिवार्य बनाउने, दाबी प्रक्रियालाई सरल र पारदर्शी बनाउने, साथै स्वास्थ्य बीमाको लगानी बढाउन अखाद्य पदार्थमा कर वृद्धि गर्ने प्रस्ताव समावेश छ।

त्यसैगरी, मधुमेह, उच्च रक्तचाप, मुटु रोग जस्ता नसर्ने रोग रोकथामका लागि जीवनशैली सुधार र निदानात्मक कार्यक्रम सञ्चालन गर्नु, क्यान्सर, मिर्गौला र जटिल रोगको एकद्वार उपचार प्रणाली विकास गर्नु, र स्थानीय तहमार्फत मानसिक स्वास्थ्य, दुर्व्यसन नियन्त्रण तथा विद्यालय स्वास्थ्य कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुका साथै जनचेतना बढाउने कार्यहरू प्राथमिकतामा राखिएको छ।

स्वास्थ्यकर्मी उत्पादन, संरक्षण र पलायन रोक्न विशेष प्याकेज लागू गर्ने, सातै प्रदेशमा सुपर स्पेसियालिटी अस्पताल स्थापना गर्ने र टेलिमेडिसिन तथा एयर एम्बुलेन्स सेवा सञ्चालन गरी दुर्गम क्षेत्रका नागरिकसम्म गुणस्तरीय सेवा पुर्याउने योजनाहरू प्रस्तावमा जोडिएको छ।

संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघीय तहबीच स्पष्ट अधिकार र समन्वय कायम राख्दै स्वास्थ्य सेवामा डिजिटलाइजेशन, EMR प्रणालीको प्रभावकारी कार्यान्वयन र औषधि तथा उपकरण खरिदमा पूर्ण पारदर्शिता सुनिश्चित गर्नुपर्ने पनि सुझाव दिइएको छ।

त्यसैगरी, स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयन गर्ने, निजी स्वास्थ्य संस्थाले १० प्रतिशत सेवा निःशुल्क उपलब्ध गराउने, ज्येष्ठ नागरिकका लागि विशेष वार्ड र प्यालेटिभ सेवा सञ्चालन गर्ने, महामारी, प्राकृतिक विपत्ति र दुर्घटनाका लागि Rapid Response Team तयारी अवस्थामा राख्ने लगायतका दीर्घकालीन योजनाहरू पनि समावेश छन्।

सङ्घले स्वास्थ्य क्षेत्रमा लगानीलाई खर्च नभई समृद्ध, सबैका लागि पहुँचयोग्य र दिगो स्वास्थ्य प्रणाली निर्माणको आधारका रूपमा हेर्नुपर्नेमा जोड दिँदै, आगामी प्रतिज्ञापत्रमा यी विषय स्पष्ट समावेश गर्न पार्टी नेतृत्वसँग आग्रह गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ