एक वर्षमै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब ४ लाख बिरामीले पाए स्वास्थ्य सेवा


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षको अवधिमा करिब चार लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। अस्पतालको ०८१ वैशाख १ गतेदेखि ०८२ माघ २९ गतेसम्मको तथ्यांकअनुसार कुल ३ लाख ७५ हजार ७९० जना बिरामीले विभिन्न स्वास्थ्य सेवा लिएका छन्।

अस्पतालका अनुसार सो अवधिमा ४७ हजार ५९८ जनाले आकस्मिक सेवा लिएका छन्। उपचारका लागि आएका बिरामीमध्ये २६ हजार ४३४ जना भर्ना भएर सेवा लिएका छन्। त्यसैगरी २६ हजार ६४० जना बिरामीको साना–ठूला शल्यक्रिया गरिएको छ।

छाला सम्बन्धी समस्याका बिरामीको संख्या पनि उल्लेख्य देखिएको छ। तथ्यांकअनुसार १२ हजार ५८७ जनाले छाला उपचार सेवा लिएका छन्। डायलाइसिस सेवा लिनेको संख्या भने तुलनात्मक रूपमा न्यून रहेको छ।

बालबालिकासम्बन्धी उपचार सेवा लिने बिरामीको संख्या उच्च देखिएको छ। अस्पतालका अनुसार २१ हजार ५०१ जनाले बाल सेवा लिएका छन्। त्यस्तै, एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी मार्फत १० जना बिरामी भर्ना भएर सेवा लिएको तथ्यांकमा उल्लेख छ। साथै, प्रतिष्ठानमा न्युरो सर्जरी सेवा पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेको देखिएको छ। सो अवधिमा २३२ जना बिरामीले भर्ना भएर न्युरो सर्जरी सेवा लिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सीमित स्रोतसाधनका बीच पनि सेवा विस्तार गर्दै पश्चिम नेपालका नागरिकलाई पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गरिरहेको अस्पताल प्रशासनको भनाइ छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ