१३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न, कर्णाली प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा भइसक्यो मतपत्र ढुवानी


काठमाडौं। निर्वाचन आयोगले चुनावी तयारी तीव्र रूपमा अगाडि बढाएको छ। फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आवश्यक सामग्री जुटाउन आयोग सक्रिय भएको हो।

आयोगका अनुसार फागुन १ गतेसम्म १३३ निर्वाचन क्षेत्रको मत छपाइको काम सम्पन्न भइसकेको छ। माघ २९ गते नै कर्णाली प्रदेशका सल्यान, रूकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानीको काम समेत सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनलाई तोकिएकै समयमा सम्पन्न गर्नका लागि आयोगले मतपत्र छपाइ र ढुवानीको कामलाई तीव्रता दिएको हो।

आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट १० लाख ९८ हजार २ सय थान नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरूमा पठाइसकिएको छ। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत आवश्यक पर्ने २ करोड ८ लाख ३० हजार थान मतपत्र छपाइ गरी प्याकिङ्ग तथा रूजु समेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको हो।

पहिला हुने निर्वाचन हुने निर्वाचन प्रणाली अन्तर्गतका लागि आवश्यक पर्ने जम्मा मतपत्र २ करोड, ३ लाख २३ हजार छपाइ गर्नुपर्नेमा फागुन १ गतेसम्ममा १ करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भइ १५ हजार ३ सय ७१ बाकस प्याकिङ्ग भइसकेको आयोगको भनाइ छ।

निर्वाचन आयोगका अनुसार कर्णाली प्रदेशबाहेक बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्जुला, बैतडी, कैलाली, कञ्चनपुर, ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, झापा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, रसुवा, कास्की बागलुङ, गुल्मी, पर्वत, गोरखा, म्याग्दी, नवलपरासी पूर्व र पश्चिम, मुस्ताङ, तनहुँ, स्याङ्जा, बर्दिया, रूकुम पूर्व, दाङ, बाँके, पाल्पा अर्घाखाँची, रोल्पा, प्युठान, रूपन्देही र कपिलवस्तु गरी ६३ जिल्लामा मतपत्र छपाइ तथा प्याकिङ्गको काम सम्पन्न भइसकेको छ। आयोगले मतपत्र छपाइ र ढुवानीलाई तीव्रता दिन थालेको हो।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ