“म्यादी मन्त्री”का कारण स्वास्थ्य सेवा दिवस ओझेलमा, यश वर्षको नारा, “दक्ष जनशक्ति, दिगो सेवा-स्वास्थ्य सुरक्षामा हामो दृढ प्रतिबद्धता”
काठमाडौं । हरेक वर्ष फागुन १५ गते मनाइँदै आएको स्वास्थ्य सेवा दिवस यस वर्ष ओझेलमा परेको छ। न त समयमा औपचारिक नारा सार्वजनिक गरिएको छ, न त देशभर कार्यक्रम गर्नेबारे स्पष्ट निर्णय भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय “म्यादी मन्त्री” का कारण यस विषयमा मौन देखिएको छ।
स्वास्थ्य सचिव डा विकास देवकोटाका अनुसार, स्वास्थ्य मन्त्री सुधा शर्माले स्वास्थ्य सेवा दिवस औपचारिक रूपमा नमनाउने तर उत्कृष्ट कर्मचारीको सम्मानसम्बन्धी निर्णय भाेलीका दिनमा गर्ने प्रस्ताव अघि सारेकी छन्। “दिवस नमनाउने तर सम्मानको निर्णय अहिले गर्ने र कार्यक्रम पछि आउने मन्त्रीले गर्ने शैली देखियो,” मन्त्रालयका एक उच्च अधिकारीले भने, “यसले जस कसले लिने भन्ने प्रश्न उठाएको छ।”
भगौडा सचिव काकताली परेर मन्त्री
डा सुधा शर्मा स्वास्थ्य सचिव पदबाट जीनामा दिएर आइएनजीको जागिर खान गएकी थिइन्। काम गर्न नसकेर प्रशासनिक जिम्मेवारीबाट बाहिरिएकी उनी पछि काकताली परेर स्वास्थ्य मन्त्री बनेकी हुन्।
स्वास्थ्यकर्मीको मनोबल घट्दो
स्वास्थ्य सेवा दिवस ओझेलमा परेको विषयलाई कर्मचारीहरू केवल प्रतीकात्मक मुद्दा मात्र नभएको बताउँछन्। उनीहरूका अनुसार, यसले नेतृत्वको प्राथमिकता र स्वास्थ्यकर्मीप्रतिको दृष्टिकोण झल्काउँछ।
अहिले मुलुक निर्वाचनको तयारीमा छ। अधिकांश प्रशासनिक कर्मचारी निर्वाचनमा खटाइएका छन्। तर स्वास्थ्य मन्त्रालयबाट भने औपचारिक रूपमा स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटाउने निर्णय भएको छैन।
निर्वाचनमा खटिने इच्छा हुँदाहुँदै पनि स्वास्थ्यकर्मीहरू औपचारिक निर्णय नआउँदा अन्योलमा छन्। केही कर्मचारीहरू भने ‘सोर्स–फोर्स’ लगाएर व्यक्तिगत रूपमा खटिएको चर्चा छ, तर मन्त्रालयको स्पष्ट नीतिगत निर्णय देखिँदैन।
एक कर्मचारी भन्छन्, “स्वास्थ्य सेवा दिवसमा जस्तै निर्वाचनमा पनि मन्त्रालय मौन देखियो। हामी राष्ट्रको महत्वपूर्ण प्रक्रियामा योगदान दिन तयार छौँ, तर अवसर नै रोकियो।”
नेतृत्वको प्राथमिकतामाथि प्रश्न
स्वास्थ्य सेवा दिवस नमनाउने अन्योल र निर्वाचनमा स्वास्थ्यकर्मी नखटाउने मौनता यी दुई घटनाले कर्मचारीको मनोबलमा असर परेको उनीहरू बताउँछन्।
“दिवस ओझेलमा, निर्वाचनमा अवसर रोकियो, यसले नेतृत्वले स्वास्थ्यकर्मीलाई कसरी हेरेको छ भन्ने सन्देश दिन्छ,” अर्का एक कर्मचारीले भने। ‘म्यादी मन्त्री’को असक्षमताले नीति र निर्णय दुवैमा अनिश्चितता बढाएको टिप्पणी स्वास्थ्यमा भएकाे छ ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस