स्वास्थ्य सेवा दिवस ‘जानाजान संख्या त्रुटि’ ले जिम्मेवार पदाधिकारीमाथि प्रश्न


काठमाडौं। स्वास्थ्य सेवा दिवसको संख्या निर्धारणमा ‘जानाजान संख्या त्रुटि’ ले जिम्मेवार पदाधिकारीमाथि प्रश्न उठेको छ । एउटा व्यक्तिले हस्ताक्षर गरेर २०८१ र २०८२ सालमा गरेको निर्णयकाे दिवस संख्याले अहिले स्वास्थ्य क्षेत्र तातिरहेको छ ।

कुनै अन्जान नभई जानाजान लापरबाही गरिएको आशंका छ। स्वास्थ्यजस्तो संवेदनशील विषयमा दिवसलाई खेलाचीका रूपमा प्रस्तुत गरिएको भन्दै आलोचना भएको छ।

अघिल्लो वर्ष पनि मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी ले नै दिवस सम्बन्धी परिपत्र जारी गरेका थिए। यस वर्ष पनि उनैको हस्ताक्षरबाट परिपत्र जारी भएपछि कतिपय सरोकारवालाले यसलाई प्रशासनिक गल्ती भन्दा पनि जानाजान गरिएको हेलचेक्र्याइँको रूपमा टिप्पणी गरेका छन्।

अघिल्लो वर्ष २८औँ दिवस मनाइएको अवस्थामा यस वर्ष संख्या घटाएर २७औँ उल्लेख गरिनु स्वाभाविक प्रशासनिक क्रमविरुद्ध देखिएको छ। सामान्य नियम अनुसार क्रम अगाडि बढ्नुपर्नेमा उल्टो संख्या प्रयोग हुनु मन्त्रालयको अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न हो।

सरोकारवालाहरूले स्वास्थ्य मन्त्रालयको प्रवक्ताजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट यस्तो गम्भीर विषयमा पटक–पटक त्रुटि हुनु स्वीकार्य नहुने बताएका छन्। सार्वजनिक सूचना जारी गर्दा तथ्यगत शुद्धता र ऐतिहासिक निरन्तरता सुनिश्चित गर्नुपर्नेमा दिवस जस्तो संवेदनशील विषयलाई खेलाची बनाइएको आरोपसमेत लागेको छ।

स्वास्थ्य सेवा दिवसजस्तो विषयमा तथ्यगत गल्ती हुनु जनस्वास्थ्यकाे विश्वसनीयतामाथि प्रश्न उठाउने विषय भएको उनीहरूको भनाइ छ। सरोकारवालाहरूले मन्त्रालय नेतृत्व, सचिवालय तथा सम्बन्धित अधिकारीले जिम्मेवारी बहन गर्नुपर्ने र आन्तरिक छानबिन गरी सुधारात्मक कदम चाल्नुपर्ने माग गरेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ