अख्तियारले स्वास्थ्यसम्बन्धी औंल्याएका भ्रष्टाचारको कसुरगत प्रवृत्ति
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतिसौं वार्षिक प्रतिवेदन स्वास्थ्यसम्बन्धी विभिन्न भ्रष्टाचारको कसुरगत प्रवृत्ति औंल्याएको छ। अख्तियारले स्वास्थ्यमा उपकरणदेखि स्वास्थ्य संस्था सञ्चालन अनुमतिमा पनि भ्रष्टाचार हुने गरेको औंल्याएको हो।
अख्तियारमा परेका स्वास्थ्यसम्बन्धी हजारौं उजुरीका आधारमा अख्तियारले भ्रष्टाचारका कसुरगत प्रवृत्तिको निष्कर्ष निकालेको हो। जसमा खरिद गरिएका स्वास्थ्य उपकरणहरू सम्पूर्ण रूपमा प्राप्त नहुँदै तथा जडान र सञ्चालन नभइकन आर्थिक वर्षको अन्त्यमा हतारमा भुक्तानी गर्ने, खरिद गरेकाे उपकरण लामो समयसम्म प्रयोगविहीन अवस्थामा राख्ने गरेको अख्तियारको ठहर छ।
स्वास्थ्य उपकरण खरिद गर्दा मिलेमतो गरी कुनै एक कम्पनी/फर्म वा व्यक्तिलाई मात्र मिल्ने गरी मेसिनरी/उपकरणको स्पेसिफिकेसन बनाउने, स्पेसिफिकेसनसँग मेल नखाने सामग्री स्वीकार गर्ने गरेको अख्तियारले औंल्याएको छ। स्वास्थ्य उपकरण खरिदको लागत अनुमान तोकिएको विधिहरू प्रयोग नगरी अस्वभाविक रूपमा बढी बनाउने, सार्वजनिक निकायकै खर्चमा र आफै आपूर्तिकर्ताको रूपमा कानुनविपरीत एलसी खोल्ने, सामान कार्यालयमा दाखिला नै नगरी भुक्तानी दिने गरेको अख्तियारको अनुसन्धानले देखाएको हो।
निःशुल्क वितरण गर्ने भनी राज्यबाट उपलब्ध औषधिहरू समेत निजी क्लिनिकमार्फत् बिक्री गर्ने/गराउने गरेको अख्तियारले जनाएको छ। गैरकानुनी लाभ लिई मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सञ्चालनको अनुमति दिने गरेको समेत खुल्न आएको हो।
अनियमितता गर्ने नियतले आपतकालीन अवस्था सिर्जना गराई ठूलो रकमको औषधि र उपचारजन्य यन्त्र उपकरण सोझै खरिद गर्ने गरेको अख्तियारको ठहर छ। स्वास्थ्यमा तालीमलगायतका प्रवर्धनात्मक कार्यक्रम नै नगरी नकक्ली बिल भरपाईको आधारमा भुक्तानी दिने/लिने, नक्कली सेवाग्राहीहरूको अभिलेख खडा गरी रकम हिनामिना गर्ने प्रवृत्ति रहेको अख्तियारले निचोड निकालेको हो।
सार्वजनिक पद धारण गरेका स्वास्थ्यकर्मीहरूले सरकारी संस्थामा समय नदिइ निजी स्वास्थ्य संस्थाहरूमा कार्य गर्ने र अनुचित लाभ लिने तथा मेडिकल प्रतिनिधिको उक्साहट र मिलेमतोमा औषधिको सिफारिस गर्ने गरेको अख्तियारको निष्कर्ष छ। यी नै विषयलाई आधार बनाएर अख्तियारले स्वास्थ्यसम्बन्धी भ्रष्टाचारका मुद्दाहरूमाथि विस्तृत अनुसन्धान गरिरहेको पाइन्छ।


तपाईको प्रतिक्रिया दिनुहोस