केपी ओलीसहित प्रत्यक्षमा उठेका एमालेका सबै पदाधिकारी चुनाव हारे


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रत्यक्षमा उम्मेदवार बनेका सबै पदाधिकारीले चुनाव हारेका छन्। ‘जेन-जी’ आन्दोलनपछि चयन भएका एमालेका पदाधिकारी प्रत्यक्षमा चुनाव हारेका हुन्।

नेकपा एमालेका अध्यक्ष ओली राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)सँग फराकिलो मतान्तरले चुनाव हारेका छन्। झापा-५ बाट बालेनले ओलीलाई झन्डै ५० हजार मतान्तरले चुनाव हराएका हुन्। झापा-५ मा प्रधानमन्त्रीका उम्मेदवार बालेनले ६८३४८ मत ल्याएर विजयी हुँदा ओली १८७३४ मतमा सीमित भएर चुनाव हारेका छन्। उनलाई मतदाताले अस्वीकृत गर्दै बालेनलाई जिताएका हुन्।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रास्वपाका कै उम्मेदवार सुलभ खरेल भन्दा झण्डै ४० हजार बढी मतान्तरले पराजित भएका छन्। रुपन्देही क्षेत्र नम्बर २ मा खरेलले ५६ ५५० मत ल्याएर विजयी हुँदा एमाले उपाध्यक्ष पौडेल १२८६१ मतमै सीमित भएर पराजित भएका हुन्।

एमाले उपाध्यक्ष गोकर्णराज विष्ट पनि रास्वपाका उम्मेदवार गोविन्द पन्थीसँग ५६१ मतले पराजित भएका छन्। पन्थीले १६९६७ मत प्राप्त गरेर विजयी हुँदा एमालेका उपाध्यक्ष समेत रहेका विष्ट १६४०६ ल्याइ पराजित भएका हुन्। त्यस्तै एमालेका अर्का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ पनि पराजित भएका छन्। रास्वपाका धर्मराज केसीसँग उनी पराजित भएका हुन्। केसीले ३३८९८ मत ल्याउँदा एमाले उपाध्यक्ष गुरूङ १६८७६ मतमा सीमित भएर पराजय भोगेका हुन्।

त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि भारी मतान्तरले पराजित भएका छन्। दाङ-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्य विजयी हुँदा १५२८२ मतमै सीमित भएर पोखरेल पराजित भएका हुन्। २८ हजार बढी मतान्तरले एमाले महासचिव पोखरेलले हार व्यहोरेका छन्।

नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ पनि धनुषाबाट पराजित भएका छन्। धनुषा-४ बाट रास्वपाका राजकिशोर महतो ४८२७० मत ल्याएर विजयी हुँदा महासेठले ११५२९ मत प्राप्त गरी पराजित भएका हुन्।

अर्का उपमहासचिव लेखराज भट्ट पनि पराजित भएका छन्।कैलाली-४ मा रास्वपाका खेमराज कोइराला २८५५६ मत ल्याएर विजयी हुँदा भट्ट तेस्रो स्थानमा पुगेका हुन्। भट्ट ९४४४ मतमा सीमित भएका हुन्।

एमालेका सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, महेश बस्नेत र राजन भट्टराई पनि चुनावमा पराजित भएका छन्। ढकाल नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा पराजित भएका हुन्। सुब्बाले ११५६१ मत प्राप्त गर्दा ढकालले १०६८२ मतका साथ पराजय भोगेका छन्। एमालेका अर्का सचिव शेरधन राईले पनि भोजपुरबाट पराजय भोगेका छन्। शेरधन श्रम संस्कृति पार्टीका ध्रुवराज राईसँग पराजित भएका हुन्। ध्रुवले १६,६६३ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार शेरधन राई १४७५० मत ल्याएर दोस्रो स्थानमा परेका हुन्।

भक्तपुरबाट नेकपा एमालेका सचिव महेश बस्नेतले पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका राजिव खत्रीसँग ३१ हजार बढी मतान्तरले बस्नेत पराजित भएका हुन्। खत्रीले ४२३३४ मत प्राप्त गरेर विजयी हुँदा बस्नेतले १०९९६ मतमा सीमित भएर पराजय भोगेका हुन्।

‘जेन-जी’ आन्दोलन दमनका कारण एमालेलाई ठूलो क्षति पुगेको देखिन्छ।

 

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ