गगन थापासहित १ दर्जन पूर्व स्वास्थ्यमन्त्रीले हारे चुनाव 


काठमाडौं। गगनकुमार थापासहित १ दर्जन पूर्व स्वास्थ्यमन्त्रीहरूले चुनाव हारेका छन्। थापासहित पूर्व स्वास्थ्यमन्त्रीहरू प्रदिप पौडेल, भानुभक्त ढकाल, पदम गिरी हृदेश त्रिपाठी, उपेन्द्र यादव, गिरीराजमणि पोखरेल, प्रदिप यादव, लेखराज भट्ट, शेरबहादुर तामाङ, राजेन्द्र महतोलगायतले चुनाव हारेका हुन्।

नेपाली कांग्रेसका सभापति समेत रहेका गगनकुमार थापाले सर्लाही ४ बाट चुनाव हारेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग १३ हजार बढी मतान्तरले थापा पराजित भएका हुन्। सिंहले ३५६८८ मत ल्याएर विजयी हुँदा थापा २२८३१ मतमा सीमित हुँदै पराजित भएका हुन्।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका पूर्व स्वास्थ्यमन्त्री प्रदिप पौडेल पनि पराजित भएका छन्। प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ५ बाट पूर्व स्वास्थ्यमन्त्री पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलसँग २१५७८ मतान्तरले पराजित भएका हुन्। पोखरेलले ३०७३७ मत प्राप्त गर्दा पौडेलले ९१५९ मतमा सीमित भएका छन्।

पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि चुनाव हारेका छन्। ढकाल नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बासँग पराजित भएका हुन्। सुब्बाले ११५६१ मत प्राप्त गर्दा ढकालले १०६८२ मतका साथ पराजय भोगेका छन्।

पूर्व स्वास्थ्यमन्त्री लेखराज भट्ट पनि चुनावमा पराजित भएका छन्। कैलाली-४ मा रास्वपाका खेमराज कोइराला २८५५६ मत ल्याएर विजयी हुँदा भट्ट तेस्रो स्थानमा पुगेका हुन्। भट्ट ९४४४ मतमा सीमित भएका हुन्।

पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि भारी मतान्तरले पराजित भएका छन्। सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी निर्वाचित हुँदा यादव १७ हजार बढी मतान्तरले पराजित भएका हुन्। रास्वपाका चौधरीले ३२८७५ मत प्राप्त गरेर निर्वाचित हुँदा यादवले १५२३९ मतमा सीमित हुँदै पराजित भएका छन्।

पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि पराजित भएका छन्। सिन्धुपाल्चोक-२ मा तामाङ तेस्रो स्थानमा पुगेर पराजित भएका हुन्। सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल २१६९९ मत ल्याएर विजयी भएका छन्। नेपाली कांग्रेसका वंशलाल तामाङले १९१४६ मत पाएर निकटतम् प्रतिस्पर्धी हुँदा एमालेका तामाङ १५९२६ मतका साथ तेस्रो भएका हुन्।

पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले पनि चुनाव हारेका छन्। पूर्व स्वास्थ्यमन्त्री पोखरेललाई महोत्तरी-१ मा रास्वपाका प्रमोदकुमार महतोले हराइदिएका हुन्। महतोले ३४६३६ मत पाउदा पोखरेलले १२६२४ मतमा सीमित हुँदै पराजित भएका हुन्।

पूर्व स्वास्थ्यमन्त्री पदम गिरी पनि चुनावमा पराजित भएका छन्। गिरी पर्वतबाट तेस्रो स्थानमा सीमित हुँदै पराजित भएका हुन्। पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसालले २६५६१ मत ल्याएर चुनाव जित्दा गिरी १५०७५ मत प्राप्त गरी तेस्रो स्थानमा पुगेका हुन्। दोस्रो भएका नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले १५९५४ मत ल्याएका छन्।

पूर्व स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी चौथो स्थानमा खुम्चिएका छन्।नवलपरासी-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विक्रम खनाल निर्वाचित हुँदा त्रिपाठी चौथो स्थानमा सीमित भएर पराजित भएका हुन्। खनालले ४५२४१ मत ल्याएर निर्वाचित हुँदा त्रिपाठीले ७८३२ मतमा सीमित हुँदै पराजय भोगेका छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसका विनोदकुमार चौधरी ९५०२ मत ल्याएर दोस्रो भएका हुन्। त्यस्तै एमालेका रामप्रसाद पाण्डेय ७९५६ मत ल्याएर तेस्रो हुँदा पूर्व स्वास्थ्यमन्त्री त्रिपाठी चौथो भएका छन्।

पूर्व स्वास्थ्यमन्त्री प्रदीप यादव पनि पराजित भएका छन्। पर्सा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद पन्त निर्वाचन हुँदा पूर्व स्वास्थ्यमन्त्री यादवले पराजय भोगेका हुन्। रास्वपाका पन्तले २७२७४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार रहेका यादवले १३०३० मतमा सीमित हुँदै पराजय भोगेका छन्।

पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतोले पनि चुनाव हारेका छन्।सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो निर्वाचित हुँदा पूर्व स्वास्थ्यमन्त्री चौथो स्थानमा सीमित भएका छन्। रास्वपाका रविन ४२५१२ मतसहित निर्वाचित हुँदा राजेन्द्र ५९९२ मतमा सीमित हुँदै लजास्पद हार व्यहोरेका हुन्। उक्त क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले ८५२३ मत ल्याएर दोस्रो र नेपाली कांग्रेसका डा. सरोज कुमार ७o३९ मत ल्याएर तेस्रो भएका छन्। अहिलेको चुनाव पूर्व स्वास्थ्यमन्त्रीहरूका लागि त्यति अनुकूल देखिएन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ