नेपाल प्रहरीका पूर्वआईजीद्वय प्रधान र खनाल चुनावमा पराजित


काठमाडौं। नेपाल प्रहरीका पूर्व महानिरीक्षक(आईजी)द्वय ध्रुवबहादुर प्रधान र सर्वेन्द्र खनालले चुनावमा पराजय भोगेका छन्। प्रधान नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-२बाट पराजित भएका हुन् भने खनाल बारा-४ बाट पराजित भएका हुन्।

अघिल्लो चुनावमा नवलपरासी-२ बाट ३४,९५९ मत पाएर निर्वाचित पूर्वआईजीपी प्रधान यसपटक उक्त क्षेत्रमै नराम्रोसँग पराजय भोगेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका उनी चौथो स्थानमा खुम्चिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रकुमार गुप्ताले ४४,१३८ मत ल्याएर विजयी हुँदा प्रधान ४,६९१ मतमा सीमित भएका हुन्। दोस्रो हुने नेपाली कांग्रेसका भीमबहादुर थापा क्षेत्रीले १५,९४५ मत पाएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी, नेपालका देवेन्द्र यादवले ७,२१२ मत ल्याएका छन्। चौथो स्थानमा पुगेका पूर्वआईजीपी प्रधानले निर्वाचित भएका रास्वपाका गुप्ताभन्दा झन्डै ४० हजार कम मत ल्याएका हुन्। कानुनमन्त्री समेत भइसकेका प्रधानले नवलपरासी-२ बाट यसपटक सर्मनाक हार व्यहोरेका छन्।

पूर्वआईजीपी सर्वेन्द्र खनालको हालत पनि उस्तै देखिन्छ। बारा-४ बाट चुनाव उठेका पूर्वआईजीपी खनालले ४६४ मत ल्याएर लजास्पद हार व्यहोरेका छन्। उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारी ४२,२०० मत ल्याएर विजयी हुँदा राष्ट्रिय परिर्वतन पार्टीको मुरली चुनाव चिन्ह लिएर लडेका पूर्वआईजीपी खनालले जमानत समेत जोगाउन सकेनन्। खनालले हारको ह्याट्रिक समेत चाखेका छन्। काठमाडौं र तनहुँबाट चुनाव हारेका खनाल बारा पुगेर हारको ह्याट्रिक हानेका हुन्।

चुनावी सरकारमा मन्त्री बन्न निकै दौडधुप गरेका पूर्वआईजीपी खनालले मुखै देखाउन नमिल्ने गरी चुनाव हारेका छन्। उक्त क्षेत्रमा यसअघि नेकपा एमालेबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ ११,६३९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका हुन्। तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी, नेपालका सञ्जु साह कानुले ७,५९३ मत ल्याउदा नेपाली कांग्रेसका श्यामबाबु गुप्ता ७,११३ मत ल्याएर चौथो बनेका छन्। नेपाली कम्युनिस्ट पार्टीका अजय कुशवाहा २,०६७ मतमा सीमित हुँदै पाचौँ, राष्ट्रिय एकता दलका विनय यादव १,०२६ मत ल्याएर छैटौं र आम जनता पार्टीका उमेशकुमार कुशवाहा ८३३ मत ल्याएर सातौं स्थानमा रहेका हुन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलिपकुमार शर्मा नेपाल ८०९ मत ल्याएर आठौं, राष्ट्रिय निर्माण दल, नेपालका समीम मिया अन्सारी ४८१ मत ल्याएर नवौं स्थानमा पुग्दा पूर्वआईजी खनाल ४६४ मत मात्र ल्याएर १० औं भएका छन्। बारामा खनालको मुरली नबज्दा नराम्रोसँग पराजित भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #ध्रुवबहादुर प्रधान, #सर्वेन्द्र खनाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ