यी हुन् प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वोच्चका न्यायाधीशहरू


काठमाडौं। ६५ वर्ष उमेर हदका कारण प्रधानन्यायाधीश प्रकाशमान सिंह चैत १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। संवैधानिक प्रावधान अनुसार सर्वोच्चको प्रधानन्यायाधीश नियुक्ति गर्ने समय घर्किसकेको छ। प्रतिनिधिसभाको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नभएको र प्रधानमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलको नेता समेत चयन भइनसकेको अवस्थामा संवैधानिक परिषद्ले पूर्णता पाएको छैन। यसैले गर्दा प्रधानन्यायाधीश सिफारिसमा समय लाग्ने देखिन्छ।

न्याय परिषद्को सचिवालयले प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वोच्चका ६ न्यायाधीशलाई योग्य देखेको छ। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश बन्न योग्य छन्। संवैधानिक परिषद्ले योग्यता, क्षमता, निष्पक्षता र औचित्यका आधारमा उनीहरूमध्ये एकलाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्नेछ। संवैधानिक परिषद्को अध्यक्ष बालेन्द्र शाह (बालेन)ले गर्ने भएकाले उनकै नेतृत्वमा प्रधानन्यायाधीश सिफारिस गरिनेछ। वरिष्ठताका आधारमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस हुँदै आएको छ। यसपटक संवैधानिक परिषद्ले के गर्छ हेर्न बाँकी छ।

संविधानको धारा १२९ मा नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता सम्बन्धी व्यवस्था रहेको छ। त्यसै अनुसार प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्ने छ। राजनीतिक भागबण्डाको आरोप खेपिरहेको न्यायाधीश नियुक्तिलाई सुधार गर्नुपर्ने आवाज उठ्दै आएको छ। यसलाई सुधार गर्न पनि नयाँ संसद्लाई मतदाताले म्याडेन्ट दिएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ