अख्तियारले जोगाएका दुई पूर्व अर्थमन्त्रीलाई नागरिकले जोगाएनन्
काठमाडौं। अख्तियारले दुरूपयोग अनुसन्धान आयोगले जोगाएका पूर्व अर्थमन्त्रीद्वय ज्ञानेन्द्रबहादुर कार्की र जनार्दन शर्मालाई मतदाताले सजाय दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार रहेका पूर्व अर्थमन्त्रीद्वय कार्की र शर्मालाई नागरिकले चुनाव हराएर सजाय दिएका हुन्। कार्कीले सुनसरी- ४ र शर्माले रूकुम पश्चिमबाट शर्मनाक हार बेहोरेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा टेरामक्स खरिद घोटालामा जोडिएका कार्कीलाई अख्तियारले भ्रष्टाचार मुद्दा नचलाई उन्मुक्ति दिएको थियो। मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा चल्दा कार्कीलाई अख्तियारले उन्मुक्ति दिएको थियो। तर, उनलाई जनअदालतबाट सजाय मिलेको छ। सुनसरी क्षेत्र नम्बर चारबाट चुनाव लडेका कार्की भारी मतान्तरले पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक कुमार साहले ४२,७७१ मत ल्याएर विजयी हुँदा कार्की १६,५८७ मतमा सीमित हुँदै पराजित भएका हुन्। उक्त क्षेत्रबाट दुईपटक चुनाव जितिसकेका कार्कीले यसपटक नराम्रोसँग पराजय भोगेका छन्।
टेरामक्स प्रकरणमा जोडिएका अर्का पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई त पार्टीले टिकट नै दिएन। टिकट पाएको भएपनि अख्तियारबाट जोगिएका बाँस्कोटाको हालत पनि कार्कीको जस्तै हुने निश्चित थियो।
अख्तियारबाट जोगिएका पूर्व अर्थमन्त्री जनार्दन शर्माले पनि चुनावमा शर्मनाक हार बेहोरेका छन्। लगातार चुनाव जित्दै आएका शर्मा यसपटक तेस्रो स्थानमा सीमित भएका हुन्। अन्त:शुल्क स्टिकर खरिद घोटालामा अख्तियारबाट जोगिएका शर्मा नागरिक र मतदाताको कठघराबाट उम्किन सकेनन्। अन्त:शुल्क स्टिकर घोटालामा तत्कालीन अर्थमन्त्री शर्मामाथि अनुसन्धान नगरेकोमा विशेष अदालतले अख्तियारको भूमिकामाथि प्रश्न उठाएको थियो। अहिले भने उनी जनताको इजलासमा परेर नराम्रोसँग पराजय भोगेका हुन्।
रूकुम पश्चिममा एकछत्र राज गरिरहेका शर्मा यसपटक तेस्रो भएका छन्। उनलाई आफ्नै पूर्व सहकर्मी गोपाल शर्माले ७ हजार बढी मतान्तरले हराएका छन्। नेपाली कम्युनिष्ट पार्टीका गोपालले २१,६०९ मत प्राप्त गरेर विजयी हुँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका शर्मा १४,३४६ मतमा सीमित हुँदै तेस्रो भएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजु केसीले १६,६६१ मत पाएका हुन्। दोस्रो स्थानमा रहेका केसीभन्दा शर्मा २ हजार कम मतमा पछाडि धकेलिएका छन्। अन्तःशुल्क प्रकरणमा जोगिएका शर्मा जनअदालतमा भने जोगिन सकेनन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस