पुराना दलको समानुपातिक सांसदमा तरमारा वर्गको हालिमुहाली


काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार निर्वाचित भएको घोषणा गरेको छ। निर्वाचन अधिकृत कृष्णबहादुर राउतले ११० जना समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेका हुन्। उक्त समानुपातिकमा निर्वाचित भएका सांसदको सूची हेर्दा तरमारा वर्गकै हालिमुहाली देखिन्छ। खासगरी पुराना दलबाट निर्वाचित समानुपातिक सांसदमा तरमारा वर्गको हालिमुहाली देखिएको हो।

नेपाली कांग्रेस र नेकपा एमालेबाट त पूर्वमन्त्री नै समानुपातिक सांसद निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट पूर्वमन्त्री अर्जुन नरसिंह केसी, नेकपा एमालेबाट पूर्वमन्त्रीद्वय रामबहादुर थापा बादल र पद्याकुमारी अर्याल समानुपातिक सांसद निर्वाचित भएका हुन्। त्यस्तै कांग्रेसबाट पूर्वसांसदहरू भीष्मराज आङ्देम्बे र डा. चन्द्रमोहन यादव समानुपातिक सांसद बनेका छन्। नेकपा एमालेबाट पूर्वसांसद टुकाभद्र हमाल समानुपातिक सांसद बनेकी हुन्। कांग्रेसबाट समानुपातिक सांसद निर्वाचित हुने केसी पार्टी सभापति गगनकुमार थापाका ससुरा हुन् भने डा. चन्द्रमोहन पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन्।

सर्वोच्च अदालतले मन्त्री र सांसद भइसकेकालाई समानुपातिक सांसद नबनाउने गरी कानुनी व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको थियो। तर, अदालतको आदेश उल्लंघन गर्दै नेपाली कांग्रेस र नेकपा एमालेबाट मन्त्री र सांसद भइसकेका व्यक्तिहरू समानुपातिक सांसद बनेका छन्। कांग्रेस र एमालेबाट अदालतको आदेशविपरीत सांसद र मन्त्री भइसकेका व्यक्तिहरू समानुपातिक सांसद बनेका हुन्। २८ वर्षीय ‘जेन-जी’हरू परिवर्तनका लागि सडकमा उत्रिएपनि कांग्रेसले ७८ वर्षीय केसीलाई समानुपातिक सांसद बनाएको हो।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले तरमारा वर्गलाई समानुपातिक सांसद बनाएको हो। कांग्रेसबाट पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रिना उप्रेती, पूर्वराष्ट्रपति रामवरण यादवको भतिजी रेखाकुमारी यादवदेखि बिमलेन्द्र निधिको भाञ्जी नीनाकुमारी कर्ण समानुपातिक सांसद बनेका छन्। एमालेबाट पूर्वमन्त्री बसन्तकुमार नेम्वाङकी श्रीमती भूमिका सुब्बा लिम्बु र नेकपाबाट पूर्वमन्त्री देवेन्द्र पौडेलकी श्रीमती बलावती शर्मा समानुपातिक सांसदमा निर्वाचित भएका हुन्। राप्रपाबाट पूर्वमन्त्री बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा समानुपातिक सांसद बनेकी छिन्।

आर्थिक, सामाजिक र शैक्षिक रूपले पछाडि परेकालाई अघि ल्याउन अपनाइएको समानुपातिक प्रणाली पहुँचवाला र पूर्वमन्त्रीका श्रीमतीहरू व्यवस्थापन गर्ने थलो बनेको छ। यसले समानुपातिक प्रणालीलाई विकृत बनाएको हो। ‘जेन-जी’ आन्दोलनले पनि नचेतेका पुराना दलहरूले श्रीमती र तरमारा वर्गलाई समानुपातिक सांसद बनाएका हुन्। सुध्रिने छाँट नदेखाएका पुराना दलहरूलाई अझै धक्का नपुगेको टिप्पणी हुन थालेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ