लैङ्गिक अल्पसंख्यक अझै विभेदमाः स्वास्थ्य सेवा लिन डर
काठमाडौं । नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय अझै पनि लाञ्छना र भेदभावको घेरामा रहेको पाइएको छ, जसका कारण उनीहरू स्वास्थ्य सेवा लिनसमेत डराउने अवस्था रहेको सरोकारवालाहरूले बताएका छन् ।
हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा परिवार कल्याण महाशाखाकी एक अधिकारी सर्मीला पौडेलले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले विभिन्न तहमा लाञ्छना र भेदभाव भोग्नुपरेको बताइन् । उनका अनुसार यस्तो व्यवहारले उनीहरूको मानवअधिकार मात्र होइन, स्वास्थ्य अवस्थामासमेत गम्भीर असर पारिरहेको छ ।
लाञ्छना भन्नाले त्यस्ता नकारात्मक सोच र विश्वासलाई जनाउँछ, जसले व्यक्तिलाई आफ्नो पहिचान वा अवस्थाका आधारमा अरूलाई अपमान, अस्वीकार वा भेदभावपूर्ण व्यवहार गर्न प्रेरित गर्छ । विज्ञहरूका अनुसार यस्ता व्यवहारहरू प्रत्यक्ष हिंसादेखि लिएर सामाजिक बहिष्कार, अपमान र अवसरबाट वञ्चित गर्ने जस्ता विभिन्न रूपहरूमा देखिन्छन् ।
लैङ्गिक अल्पसंख्यक समुदायले दैनिक जीवनमै अपमानजनक टिप्पणी, मजाक, अनुचित प्रश्न र सामाजिक अस्वीकारको सामना गर्नुपरेको छ । कतिपय अवस्थामा उनीहरूको पहिचानलाई बेवास्ता गरिन्छ भने “समाजले तोकेको लिङ्ग अनुसार बाँच्नुपर्छ” भन्ने दबाबसमेत दिइन्छ । गोपनीयता भंग गर्ने, सार्वजनिक रूपमा औँल्याउने तथा अपमानजनक शब्द प्रयोग गर्ने जस्ता व्यवहार पनि व्यापक छन् ।
त्यस्तै, समावेशी पूर्वाधारको अभावले समस्या झन् जटिल बनेको अधिकारीहरु बताउँछन् । अस्पताल, शौचालय तथा सरकारी कागजातहरूमा “पुरुष” र “महिला” मात्र विकल्प हुँदा उनीहरू सेवा लिन असहज महसुस गर्छन् । कतिपय अवस्थामा समलैङ्गिकतालाई रोग ठानी अनावश्यक वा जबरजस्ती उपचारको सिफारिस गर्ने गरेको पनि पाइएको छ ।
लाञ्छनाका कारण धेरै व्यक्तिहरूले आफ्नो पहिचान लुकाउने र स्वास्थ्य सेवा लिन नजाने प्रवृत्ति बढ्दो छ । यसले मानसिक स्वास्थ्य समस्या, संक्रमणजन्य रोग तथा अन्य स्वास्थ्य जोखिमहरू बढाउने गरेको पौडेल बताउँछीन् ।

अधिकारीहरु भन्छन् शिक्षा र रोजगारीमा पनि यसको असर स्पष्ट देखिन्छ । विद्यालय तथा कलेजमा हुने जिस्क्याउने र अपमानजनक व्यवहारका कारण कतिपयले पढाइ छोड्न बाध्य हुने गरेका छन् भने रोजगारीमा पनि समान अवसरबाट वञ्चित हुनुपरेको छ ।
सामाजिक रूपमा परिवार र समुदायबाट बहिष्कार, एक्लोपन तथा हिंसाको जोखिम बढ्दै जाँदा उनीहरूको जीवनस्तरमा गम्भीर असर परेको सरोकारवालाहरू बताउँछन् ।
विशेषज्ञहरूले लाञ्छना र भेदभाव अन्त्य गर्न नीति, सेवा प्रणाली र सामाजिक व्यवहारमै परिवर्तन आवश्यक रहेको औंल्याएका छन् । उनीहरूका अनुसार समावेशी स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि र अधिकारको संरक्षणमार्फत मात्र यस्तो समस्या समाधान गर्न सकिन्छ ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : ##LGBTIQ+


तपाईको प्रतिक्रिया दिनुहोस