स्वास्थ्यको राजनीतिक नियुक्तिमा चरम नातावाद: पुष्पा भुसालका श्रीमानदेखि सूर्य थापाका भाइसम्म जागिरे


काठमाडौं। पुराना राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा कतिसम्म चरम नातावादलाई प्रश्रय दिएका थिए भन्ने कुरा स्वास्थ्यका राजनीतिक नियुक्तिबाट देखिन्छ। कांग्रेस नेतृत्वहरूका श्रीमानहरू व्यवस्थापन गर्ने थलो स्वास्थ्य क्षेत्र बनेको छ। नातावादलाई मुख्य ‘टार्गेट’ बनाएर ‘जेन-जी’ आन्दोलन भएको थियो। ‘जेन-जी’ आन्दोलनपछि चुनावी सरकार बनेर सत्ता हस्तान्तरण गर्ने बेला भइसक्यो। तर, नातावादमा आधारमा स्वास्थ्यमा राजनीतिक नियुक्ति खाएकाहरूले अहिलेसम्म पद छाडेका छैनन्।

झन्डै दुईतिहाइ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन हुन लागेकाे छ। रामनवमीका दिन बालेनले प्रधानमन्त्रीको सपथ खाने तय भएको छ। बालेन सरकार आउनु अघि नै रास्वपाले राजनीतिक नियुक्ति खाएकाहरूलाई पद छाड्न सन्देश दिएको छ। तर, पुराना दलबाट नियुक्ति खाएकाहरू सुशासनलाई चुनौती दिँदै लिसो टाँसिए जस्तो पद ओगटेर निर्लज्ज तरिकारेले बसिरहेका छन्। स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै देखिन्छ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल(गौतम)का श्रीमान डा. चोपलाल भुसाल नेपाल मेडिकल काउन्सिलका अध्यक्ष छन्। डा. चोपलाल क्षमतामा प्रश्न नउठ्ला तर पुष्पा कै श्रीमान भएका कारण उनले कांग्रेसी सत्तामा पटकपटक राजनीतिक नियुक्ति खाँदै आएका हुन्।

पटकपटक समानुपातिक सांसद बनेकी कांग्रेस नेतृ पुष्पाका श्रीमान डा. चोपलालले यसअघि पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, बंगलादेशको राजदूतलगायतमा राजनीतिक नियुक्ति खाइसकेका छन्। हाल नेपाल मेडिकल काउन्सिलका अध्यक्ष रहेका डा. चोपलालले नातावादको राम्रै लाभ लिएको पाइन्छ।

गगन थापा नेतृत्वकै नेपाली कांग्रेसको सहमहामन्त्री रहेकी डा. डिला संग्रौला पन्तका श्रीमान सूर्य संग्रौलाले पनि नातावादको भरपुर उपयोग गरेका छन्। कांग्रेस नेतृ डिलाका श्रीमान भएकै कारण डा सूर्य वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार बन्न सफल भए। कांग्रेसबाट समानुपातिक सांसद भइसकेकी डिलाले तत्कालीन सभापति शेरबहादुर देउवा र ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रयोग गरेर श्रीमानलाई वीपी प्रतिष्ठानको रजिष्ट्रारमा नियुक्ति दिलाएकी हुन्। उनले त्यसअघि श्रीमान सूर्यलाई ‘सोर्स’ लगाएर पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रक बनाएकी थिइन्।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्र थापा क्षेत्री नेकपा एमालेका नेता सूर्य थापाका सहोदर भाइ हुन्। राजनीतिक भागबन्डाका आधारमा सूर्यका भाइ चन्द्रले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पड्काएका हुन्। नातावाद कै आधारमा अध्यक्षमा नियुक्ति पड्काएका चन्द्रले स्वास्थ्य बीमालाई भड्खालोमा हालेका छन्।

गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय सदस्य नवोदिता चौधरीका श्रीमानले पनि नातावादको लाभ उठाउँदै आएका छन्। उनका श्रीमान पशुपति चौधरी रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष बन्न सफल भएका छन्। नेपाली कांग्रेसबाट कोशी प्रदेशसभा सदस्य समेत भइसकेको नवोदिता कै कारण पशुपति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहनिर्देशक समेत बनेका थिए। अहिले उनले त्योभन्दा ठूलो पद लिएका छन्।

स्वास्थ्यमा राजनीतिक ‘ब्याज’ खाने यी त केही उदाहरण मात्र हुन्। स्वास्थ्यमा यस्ता नातावादबाट नियुक्ति खाएका प्रशस्तै भेटिन्छन्। उनीहरूको विषयमा पनि स्वास्थ्य लाइभले निरन्तर खबरदारी जारी राख्ने छ। ‘जेन-जी’ आन्दोलनको मर्म र सुशासनको मार्गचित्र अनुसार अब यस्ता बेथितिको अन्त्य हुनैपर्छ। बालेन सरकारले यस्ता बेथितिमाथि पहिलो प्रहार गर्न जरूरी छ। जनताको निराशालाई आशामा बदल्ने यो सुरूवाती कदम हुने देखिन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #चन्द्र थापा, #डा. चोपलाल भुसाल, #डिला संग्रौला, #नातावाद, #पशुपति चौधरी, #पुष्पा भुसाल, #वीपी प्रतिष्ठानका रजिष्ट्रार डा. सूर्य संग्रौला सं, #सूर्य थापा, #स्वास्थ्यमा राजनीतिक नियुक्ति

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ