यी हुन् बालेन सरकारले गरेका ४ निर्णय, जेनजी आन्दोलन दमनकारीहरू पक्राउ पर्न सक्ने
काठमाडौं। बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले ४ वटा निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। उक्त निर्णयसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ पर्ने सम्भावना बढेको छ। पहिलो चरणमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि प्रतिवेदन अनुसार एक्सन हुने सम्भावना बढेको हो। गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्र कुवेर खापुङ, तत्कालीन काठमाडौंका सिडिओ छवि रिजालको हकमा भने दोस्रा चरणमा एक्सन लिने तयारी रहेको स्रोतले बतायो।
गृहमन्त्री सुदन गुरुङ जेनजी आन्दोलन दमन गर्ने तत्कालीन जिम्मेवार व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याउने पक्षमा छन्। उक्त विषयलाई लिएर यसअघिका गृहमन्त्री ओमप्रकाश अर्यालसँग उनको निकै ठूलो मतभेद रहँदै आएको थियो। अब भने प्रतिवेदन अनुसार एक्सन लिने काम सुदनको काँधमा आएको हो।
मन्त्रिपरिषद्को बैठकले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गरेको छ। यसले मुलुक र सुशासनमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। विभिन्न मन्त्रालयसँग सम्बन्धित १०० वटा कामले आइतबारदेखि नै तीव्रता पाउने छ।
मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय समेत गरेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस