राप्ती प्रतिष्ठानमा बृहत क्यान्सर परिक्षण शिबिरमा ३ सय जनाले चेक गराए
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले एकपछि अर्को गर्दै विशेषज्ञ सेवा थपेपछि सेवा लिने बिरामीको चाप बढि रहेको छ । दैनिकजसो १ हजारको हारहारीमा बिरामी प्रतिष्ठानमा उपचारका लागि आइरहेका छन । यसैक्रममा प्रतिष्ठानले बिरामीको सेवालाई ध्यानमा राख्दै शुक्रबार गरेको बृहत क्यान्सर परामर्श तथा परिक्षण शिबिरमा करिब ३ सय बढिले चेकजाँच गराएका छ्न । बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म चलेको शिबिरमा मेडिसिन तर्फ २१ जना, गाइनोतर्फ १ सय ९३ जना र सर्जरी तर्फ ७२ जनाले देखाएको निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए । उनले क्यान्सरको सेवा सुरु गर्न प्रतिष्ठानले पहल गरेको र यस्ता शिबिरले क्यान्सरका बिरामी पहिचान र उपचार गर्न सहज हुने बताए ।
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनसंगको प्राबिधिक सहयोगमा शिबिर भएको हो । शिबिरबाट ठुलो संख्यामा बिरामी लाभान्बित बनेको लम्सालले बताए । शिबिरमा क्यान्सर अस्पताल भरतपुर चितवन र प्रतिष्ठानका विभिन्न विभागमा कार्यरत विशेषज्ञ चिकित्सक तथा कर्मचारी खटाइएको थियो ।
क्यान्सर अस्पतालबाट विशेषज्ञ चिकित्सककारुपमा मेडिकल अंकोलोजी डा. बिबेक कडेल, ब्रेष्ट सर्जरी डा. अनुप भट्टचन, युरोलोजि डा. बोधराज गौतम, गाइनो अंकोलोजी,डा. अस्मिता ओलिले शिबिरमा चेकजाच गरेका थिए ।
प्रतिष्ठानमा क्यान्सर सम्बन्धि भएको यो ठुलो र पहिलो शिबिर हो । प्रतिष्ठानमा क्यान्सर उपचार सेवा सुरु गर्न सहकार्य गर्ने र क्यान्सर अस्पताल बिच यसअघि दुबै स्वास्थ्य संस्थाबिच भएको सम्झौता अनुरुप शिबिर भएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने निमित्त उपकुलपति प्रा. लम्सालको भनाई छ ।
शिबिरमा महिलाको पाठेघर, स्तन, योनि लगायतको क्यान्सर परिक्षण हुने भएकाले क्यान्सरका बिरामी र पाठेघरमा समस्या भएका, स्तनमा गाठा भएका, योनि चिलाउने तथा घाउ भएका लगायतका समस्या हुने महिलाहरुले परिक्षण गराएका थिए ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस