प्रधानमन्त्रीको स्पिरिट र सञ्चारमन्त्रीको फुर्सद तथा लोकरिझ्याँईमा अलमल


समाचार टिप्पणी

काठमाडौं। बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएसँगै जनताले सुधार र रूपान्तरणको ठूलो अपेक्षा गरेका छन्। सुरूवाती कदम पनि यसैतर्फ उन्मुख देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका मन्त्रीहरूले सार्वजनिक उद्घाटन र रिवन काट्दै नहिँड्ने प्रतिवद्धता जाहेर गरेको पनि हो। कलिला ‘जेनजी’ युवाको रगतको जगमा मुलुकको आमूल रूपान्तरणका लागि नागरिकले लगभग दुई तिहाईँको बहुमत प्रदान गरी राज्य सञ्चालनको जिम्मेवारी प्रदान गरेको मर्म बालेन क्याबिनेटका मन्त्रीहरूले बुझ्न नसकेको जस्तो देखिन थालेको छ। सन्दर्भ सोमबार मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले गरेको हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रमको हो।

कुनै पुल निर्माण भयो वा भवन सुरू गर्न लागियो वा कुनै उद्‍घाटन कार्यक्रम भयो भने यस अघिका सरकारका प्रधानमन्त्रीदेखि लिएर मन्त्री वा सभासद वा प्रदेश वा स्थानीय तहका नेता कसले उद्‍घाटन गरी आफ्नो नाम भित्तामा अमर बनाउने भनेर ठूलै किचलो हुने गर्थ्यो। उद्‍घाटन गरेर आफ्नो नाम शिलालेखमा लेखाउनको लागि विगतमा ठूलठूला झगडा नै हुने गरेका उदाहरण प्रशस्तै भेटिन्थे। त्यस्तै कृत्यहरूबाट दिक्‍क भएर पनि जनताले ती विकृतिको अन्त्य गर्दै सुशासन प्रवर्द्धन, तीव्र विकास निर्माण र सेवा प्रवाहमा सुधारको लागि छनौट गरेर पठाएको जेजजी सरकारका मन्त्री पनि पुरानै ढर्रामा रमाउन थालेको देखिएको छ। प्रधानमन्त्री बालेन उद्घाटन जस्ता यस्ता झिनामसिना कुराबाट टाढा रहँदै आएका छन्।

उद्‍घाटन मोहको एउटा क्षेत्र हो हुलाक टिकटमा टाँचा लगाउने, फोटो खिचाउने, भाषण दिने र मन्त्रीको अमूल्य दिनको कम्तीमा २ घण्टादेखि लिएर ४-५ घण्टासम्म व्यतीत गर्ने। यस्तो उत्पादनहीन काममा नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री  डा. बिक्रम तिमिल्सिनाले जेनजी आन्दोलनको सुरूवात गर्न र सामाजिक सञ्जाल उपर प्रतिबन्ध लगाई निरंकुशता लाद्‍न मुख्य भूमिका खेलेका पूर्ववर्ती मन्त्री पृथ्वी सुब्बा गुरूङ्गकै पदचाप पहिल्याएका छन्। तिनै पृथ्वी सुब्बा गुरूङ्गले सबैभन्दा रूचाइएकी कर्मचारी हुलाक सेवा विभागका महानिर्देशक मनमाया पंगेनीको फूलबुट्टा भरिएको अनावश्यक तुनाबुनामा रमाएर। विभागकी महानिर्देशक पंगनी एमालेको भातृसंगठनमा निजामती कर्मचारी संगठनको विभिन्न भूमिकामा रही जिम्मेवारी निर्वाह गरिसकेकी र विभागलाई एमालेमैत्री बनाउन सक्रिय रहेकी, पृथ्वी सुब्बा गुरूङ्ग मात्र नभई भूतपूर्व प्रधानमन्त्री केपी ओलीसँग नजिकैको सहकार्य भएको भनि विभागलाई एमालेकरण गर्न सक्षम भएको आरोप लाग्दै आएको छ। उनले अख्तियार प्रमुख प्रेम कुमार राईको समेत नाम लिने गरेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

कर्मचारीतन्त्रमा रूपान्तरण र ट्रेड युनियन अन्त्य गर्ने उद्‍घोष गरेको वर्तमान बालेन सरकारका मन्त्री पनि उनैको तालमा नाच्न थालेको देख्दा सुधार हुनेमा सन्देह उत्पन्न भएको छ। हुलाक टिकट छपाइ र प्रचलनमा ल्याउने कुरा भनेको पुल बनाएर त्यसमा मान्छे हिँड्न सुरू गराउनु जस्तै हो। पुलको उद्‍घाटन गर्न चै भौतिक मन्त्री नजाने भएपछि हुलाक टिकटमा टाँचा लगाउन चै सञ्चारमन्त्री किन जाने? जेनजी आन्दोलन निम्त्याउने कारक पृथ्वी सुब्बा गुरूङ्ग र जेनजी आन्दोलनको जगमा मन्त्री बनेका यी विक्रम तिमिल्सिनामा के फरक भयो र?

सरकारका १०० बुँदाका समयवद्ध कार्ययोजना सार्वजनिक भएका छन्। सञ्चार मन्त्रालयलाई सूचना प्रविधि विभाग नै खारेज गर्नेदेखि लिएर सार्वजनिक सेवालाई ‘डिजिटाइज’ गर्नेदेखि सबै स्थानीय तहसम्म एकीकृत सरकारी सूचना प्रणाली लागू गर्ने जस्ता संवेदनशील कार्यहरू तोकिएका छन्। इन्टरनेट सेवा काठमाडौंकै अधिकांश ठाउँमा अवरूद्ध हुन्छ। देशका सबै वडासम्म अवरोधविहीन ‘फोर-जी’ सेवाको सुनिश्चितता गर्नुछ।

उसबेलाका पृथ्वी सुब्बा गुरूङ र अहिलेका विक्रम तिमिल्सिना

सरकारको कार्ययोजना अनुसार हुलाक सेवालाई नै स्मार्ट बनाउँदै नागरिकता, राहदानी लगायतका कागजात हुलाकैबाट नागरिकका घरदैलोमा पुर्‍याउने सुनिश्चितता गर्नु छ। मन्त्रीका लागि यस्ता कामका त चाङ नै छन्। मन्त्री भने हुलाककै महानिर्देशकले टाँचा लगाएर प्रचलनमा ल्याउन मिल्ने हुलाक टिकटमा छाप लगाउने काममा दिन बिताउन थालेका छन्। बालेन सरकारले यस्ता कार्यमा समयमै सचेत हुन जरूरी छ। घरदैलोमा सेवा दिन पंगेनीबाट सम्भावन देखिँदैन। यी कामहरू गर्न हुलाक सेवा विभागको महानिर्देशक फेरे मात्र सहज हुने देखिन्छ।

मन्त्रीको दैनिकीको निगरानी गर्नुपनि अपरिहार्य हुन्छ। मन्त्रालय, विभाग र सार्वजनिक निकायका प्रशासनिक नेतृत्वले दिग्भ्रमित पार्न सक्ने, पुरानै सत्ताका ढर्रा र रमझम जस्ता लोकरिझ्याँइमा नयाँ सरकारका मन्त्रीलाई विचलित बनाउने जोखिम समयमै पहिचान गरि नियन्त्रण गरिहाल्नुपर्छ। अनि मात्र मन्त्री र सरकार सफल हुन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ