आयुर्वेदमा ‘१० तह’को कब्जा: दरबन्दी छाडेर शक्तिमा रमाइरहेका चिकित्सक
काठमाडौं । नयाँ सरकार गठनसँगै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह सुधार, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नेतृत्वले स्वास्थ्य क्षेत्रमा सुधारको संकेतस्वरूप दरबन्दीबिना मन्त्रालय, विभाग तथा उच्च तहमा बसेका कर्मचारीलाई धमाधम फिर्ता पठाउने प्रक्रिया अघि बढाएको छ।
यसै सन्दर्भमा, वर्षौंदेखि दरबन्दीभन्दा बाहिर बसेर शक्ति र पहुँचको आडमा विभिन्न पदमा कायम रहँदै आएका आयुर्वेदका १० तहका चिकित्सकहरूको अवस्था सार्वजनिक गरिएको छ। बिरामी सेवा दिनुपर्ने स्थानमा विशेषज्ञ अभाव भइरहेका बेला कतिपय चिकित्सक भने मन्त्रालय वा अन्य निकायमा बसाइ लम्ब्याउँदै आएको देखिन्छ।
स्वास्थ्य लाइभले स्वास्थ्य क्षेत्र सुधारमा सहयोग पुग्ने अपेक्षासहित मन्त्रीलाई सहयोग पुर्याउने हेतुले यस्ता प्रवृत्तिहरू उजागर गरेकाे हाे । अब यसलाई नियन्त्रण गर्ने वा यथास्थितिमै राख्ने भन्ने विषय भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको नेतृत्व र निर्णयमा निर्भर रहनेछ।
🔴 सवरी साह: दरबन्दी नभएको वैद्यखानामा ‘लामो बसाइ’
सवरी साह समायोजनका क्रममा दरबन्दी नै नभएको सिंहदरबार वैद्यखानामा पुगेका थिए। २०७६ सालदेखि उनी त्यहीँ बस्दै तीनपटकसम्म निमित्त प्रमुख बने।
उनको मूल जिम्मेवारी बिरामी जाँच भए पनि उनी औषधि उत्पादनसँग सम्बन्धित कार्यालयमै केन्द्रित छन्। स्रोतका अनुसार, उनको दरबन्दी मधेस प्रदेशमा छ तर, वैद्यखाना छाडेका छैनन् ।
🔴 पुष्पराज पौडेल: दरबन्दी नरदेवीमा, बसाइ मन्त्रालयमा छ ।
शालाक्य (नाक–कान–घाँटी) विशेषज्ञ पुष्पराज पौडेलको दरबन्दी नरदेवी आयुर्वेद चिकित्सालयमा भए पनि उनी विगत ४–५ वर्षदेखि स्वास्थ्य मन्त्रालयमै सक्रिय छन्।
यसका कारण नरदेवीमा शालाक्य सेवा प्रभावित हुँदै आएको छ। उनी व्यवस्थापन र समन्वय भूमिकामा रहे पनि आफ्नो विशेषज्ञ सेवा प्रयोगमा नआएको देखिन्छ।
🔴 श्यामबाबु यादव: ‘निमित्त’ पदमै करियर बनिरहेको छ । जनरल आयुर्वेद चिकित्सक श्यामबाबु यादवले आफ्नो करियरको अधिकांश समय निमित्त वा कायममुकायम प्रमुखका रूपमा बिताएका छन्।
किर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रदेखि नरदेवी अस्पताल र वैद्यखाना विकास समितिसम्म विभिन्न जिम्मेवारी सम्हालेका उनी हाल आयुर्वेद विभागको निमित्त महानिर्देशक छन्।
११ तहको पदमा १० तहबाट जिम्मेवारी दिइएको विषयमा प्रश्न उठेको छ।
🔴 सन्तोष ठाकुर: राजनीतिक पहुँचसँगै निरन्तर नेतृत्वमा छन् ।
द्रव्यगुण विज्ञान (जडीबुटी) विशेषज्ञ सन्तोष ठाकुर विभिन्न निकायमा नेतृत्व भूमिकामा देखिँदै आएका छन्।
दाङ आयुर्वेद अस्पतालदेखि किर्तिपुरको अनुसन्धान केन्द्रसम्म उनी पटक–पटक निमित्त प्रमुख बनेका छन्। हाल उनी सोही केन्द्रमा कार्यकारी प्रमुखका रूपमा कार्यरत छन्, जुन पद ११ तहको मानिन्छ।
🔴 श्याम कुमार साह: दरबन्दी बाहिर ‘घरपायक’ काम ।
शालाक्य विशेषज्ञ श्याम कुमार साहको दरबन्दी नरदेवी अस्पतालमा भए पनि उनी बर्दिबासस्थित एक शाखामा कार्यरत छन्।
उक्त शाखाको कानुनी अवस्थामाथि नै प्रश्न उठेको छ। घर पायक मात्रै बस्दा नरदेवी अस्पतालमा शालाक्य सेवा वर्षौंदेखि ठप्प छ।
🔴 सिद्दार्थ ठाकुर:
कायचिकित्सा विशेषज्ञ सिद्दार्थ ठाकुर विभिन्न स्थानमा निमित्त निर्देशकका रूपमा कार्यरत रहँदै आएका छन्।
उनी हाल झापाको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत छन्। दरबन्दी रहेको स्थानमा फर्कन निर्देशन भए पनि कार्यान्वयन नभएको स्रोतको दाबी छ।
यी र यस्ता थुप्रै समस्या स्वास्थ्यमा छन् । सुधार एक पक्षमा मात्र हुनु हुदैन । सबैलाई समान रुपमा व्यवहार गर्दा आयुर्वेद क्षेत्रमा देखिएको सिन्डिकेटकाे जालाे पनि मन्त्रीले ताेड्नु पर्छ ।
ट्याग : ##mohp nepal


तपाईको प्रतिक्रिया दिनुहोस