पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्तिमा दलका कार्यकर्ताको रजाइँ, नेपाल ट्रष्टको सम्पत्ति चरम दुरूपयोग
समाचार टिप्पणी
काठमाडौं। स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गर्न नेपाल ट्रष्टको स्थापना भएको हो। धनकुटादेखि पोखरासम्म अहिले नेपाल ट्रष्टको नाममा हजारौं रोपनी जग्गा रहेको छ। कतिपय जग्गा व्यक्तिले समेत कब्जा गरेका छन्। पूर्वराजा वीरेन्द्र परिवारको नाममा रहेको सम्पत्ति स्वामित्व नेपाल ट्रष्टको नाममा ल्याएपनि उक्त सम्पत्तिको व्यापक दुरूपयोग भएको देखिन्छ। सीमित व्यावसायिक घराना र दलीय कार्यकर्ताले नेपाल ट्रष्टको रजाइँ गरिरहेका छन्।
केपी शर्मा ओलीले नेपाल ट्रष्टको संरक्षक रहेका बेला नेपाल ट्रष्टको जग्गामा उनी निकट व्यापारी यती ग्रुपले साम्राज्य खडा गरेको थियो। ओलीको नेतृत्वमा नीतिगत भ्रष्टाचार गरेरै पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्ति यती ग्रुपलाई सुम्पने काम भएको थियो। नेपाल ट्रष्टको सञ्चालक समितिमा मुख्यसचिव लगायत आधा दर्जन बढी विभिन्न मन्त्रालयका सचिव रहने व्यवस्था रहेको नेपाल ट्रष्टमा कानुन संशोधन गरेर यती समूह निकट याङजोम शेर्पा र सीताराम सापकोटालाई नेपाल ट्रष्टको सञ्चालक समिति सदस्य बनाइएको थियो। त्यसपछि नेपाल ट्रष्टको स्वामित्वमा रहेको ‘गोकर्ण फरेष्ट रिसोर्ट’को जग्गा यति समूहलाई समय अगावै लिज अवधि बढाएर सुम्पने काम भयो। ओली ट्रष्टको संरक्षक र तत्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेल अध्यक्ष रहेका बेला यतीलाई पूर्वराजाको सम्पत्ति सुम्पने काम भएको थियो। उक्त कार्यका लागि ट्रष्टका तत्कालीन सहसचिव राजेश्वर ज्ञवालीले सहजीकरण गरेका थिए। ‘जेन-जी’ आन्दोलनअघि ओली कै जोडबलमा उद्योग विभागका महानिर्देशक बनेका ज्ञवाली अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका हर्ताकर्ता सहसचिव हुन्।
यती ग्रुप निकट र ओली प्रधानमन्त्री भएका बेला ओलीको जन्मघर तेह्रथुममा नेपालको चुच्चे नक्सा आकारको ‘के-क’ काट्ने याङजोम शेर्पा अहिले पनि नेपाल ट्रष्टको सञ्चालक समिति सदस्य रहेकी छिन्। नेपाल ट्रष्टको अध्यक्ष तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा माओवादी केन्द्रीय सदस्य सुनिताकुमारी गौतम नेपाल र देवीचन्द्र उपाध्यायलाई सदस्य बनाएका थिए। उनीहरूले मासिक लाख बढी तलबसहित सेवा/सुविधा लिने गरेका छन्। पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्ति संरक्षण गर्न गठन गरिएको नेपाल ट्रष्टमा यती समूह निकट र दलीय कार्यकर्ताको रजाइँ रहेको पाइन्छ।
नेपाल ट्रष्टको सम्पत्ति शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानीका लागि भनेर बोर्डमा विज्ञ सदस्य नियुक्त गर्न सक्ने प्रावधान नियमावलीमा छ। तर, विज्ञका नाममा दलका नेता/कार्यकर्ताहरु नियुक्त भएर पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्तिमा रजाइँ गरिरहेका छन्। नेपाल ट्रष्ट सञ्चालक समितिको ३ महिनामा मुस्किलले एकपटक मात्र बैठक बस्ने गरेको छ। यती ग्रुपका मान्छे र पार्टीका कार्यकर्तालाई कामविनै यसरी सहसचिवबराबरको सेवा/सुविधा लिने गरेका हुन्। उनीहरूको शैक्षिक योग्यता समेत कैफियत देखिएको ट्रष्टका कर्मचारी बताउँछन्।
नेपाल ट्रष्टको जग्गा दरबारमार्गदेखि गोकर्ण फरेष्ट रिसोर्टमा यती समूहले सम्राज्य खडा गरेको छ। नेपाल ट्रष्टको जग्गा यती समूहलाई सुम्पने गरी ओलीले कानुन नै संशोधन गरेका थिए। त्यसको चाँजोपाँजो मिलाउन सहसचिव राजेश्वर ज्ञवाली खडा भएका थिए। त्यसपछि ज्ञवाली काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए। अहिले उद्योग मन्त्रालयका हर्ताकर्ता रहेका उनै ज्ञवालीका विश्वासपात्र सरोज पोखरेल उद्योग मन्त्रालयमा बालेनको निजी सचिव बन्न चलखेलमा लागेको बताइन्छ। ज्ञवालीले पोखरेललाई अघि सारेर आफू शक्तिशाली हुन खोजेको चर्चा चल्न थालेको हो।
यती समूह र ओलीको विश्वास जितेर शक्तिशाली बन्दै आएका ज्ञवाली नेपाल ट्रष्टको जग्गा यती समूहलाई दिनका लागि निकै सक्रिय भएका थिए। संरक्षक रहेका प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले नेपाल ट्रष्टको जग्गा दुरूपयोग र नीतिगत भ्रष्टाचारमा छानबिन गर्दा उनी ‘रेड-जोनमा’ देखिन्छन्। अब त्यो समय पनि आइसकेको छ।
शिक्षा र स्वास्थ्यमा ट्रष्टको सम्पत्ति उपयोग गर्ने भनिएपनि दलका कार्यकर्ताको रजाइँ जारी छ। उक्त सम्पत्ति दोहन रोक्न बालेनले तत्काल एक्सन लिनुपर्छ। पूर्वराजा वीरेन्द्रको सम्पत्तिमा दलका कार्यकर्ताको रजाइँ अन्त्य हुनैपर्छ। पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्ति पार्टी निकट व्यापारी सुम्पनका लागि ट्रष्ट खोलेर राष्ट्रीयकरण गरेको होइन। नेपाल ट्रष्टको सम्पत्ति शिक्षा र स्वास्थ्य जस्ता सामाजिक क्षेत्रमै उपयोग गर्न संरक्षक बालेनले भूमिका खेल्नुपर्छ।
क्याटेगोरी : समाचारट्याग : #देवीचन्द्र उपाध्याय, #नेपाल ट्रष्ट, #याङजोम शेर्पा, #सुनिता गौतम


तपाईको प्रतिक्रिया दिनुहोस