कांग्रेस-एमाले सत्तादेखि नै मन्त्रालयको प्रशासन महाशाखामा रजाइँ गरिरहेका सहसचिवहरू


काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता हुँदा मन्त्रालयको प्रशासन महाशाखामा रजाइँ गरिरहेका सहसचिवहरू अझै पनि हटेका छैनन्। पार्टी निकट भएकै कारण मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भएका सहसचिवहरूले ‘जेन-जी’ स्पिरिटको सरकार आइसक्दा पनि प्रशासन महाशाखामा राज गरेर बसेका हुन्। खासगरी संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, अर्थ मन्त्रालयको प्रशासन महाशाखामा पुरानै सत्ताका तरमारा सहसचिव रहेका छन्। सत्ता फेरिए पनि उनीहरूको रजगज जारी छ। चाकडीको शैली फेरेर अहिले पनि ती महाशाखा प्रमुखहरू टिकिरहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रशासन महाशाखा प्रमुखमा सहसचिव पार्वती शर्मा रहेकी छिन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास जितेर सामान्य प्रशासन मन्त्री भएकी भगवती न्यौपानेले पार्वतीलाई उक्त मन्त्रालयमा भित्र्याएकी थिइन्। एमालेको ‘क्याडर’ भएकाले सहसचिव पार्वती प्रदेश नगई सामान्य प्रशासन मन्त्रालय आएर महत्त्वपूर्ण महाशाखाको प्रमुख भइन्। बागमती प्रदेशमा सरूवा भएपनि एमालेको भगवती मन्त्री भएकै कारण प्रदेश नगइ पार्वती सामान्य प्रशासन मन्त्रालयमा जान सफल भएकी हुन्। एमाले सत्ता लापत्ता हुँदा पनि सामान्यमा पार्वतीको रजगज चलिरहेको छ। सत्ता र शक्तिमा रमाउने पार्वती प्रदेश नगई अहिले पनि सामान्य प्रशासन मन्त्रालयमा रजाइँ गरिरहेकी छिन्। एमाले निकट कर्मचारीहरूलाई महत्त्वपूर्ण ठाउँमा सरूवा गर्न उनी सक्रिय हुँदै आएकी छिन्। पार्वतीलाई सामान्यको प्रशासन महाशाखामै राखे बालेन सरकारलाई पनि गुमराहमा राख्ने प्रयास गर्नेछिन्। बालेन सरकारले उनलाई मधेश प्रदेशतिर सेवा गर्न पठाउँदा उपयुक्त हुन्छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बलराम रिज्याल हुन्। एमाले भएकै कारण तत्कालीन भौतिकमन्त्री देबेन्द्र दाहालते सहसचिव रिज्याललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनाएका थिए। भौतिकको सरूवामा निकै विवादित बनेका रिज्याल ‘जेन-जी’ सरकार आउँदा पनि रजगज चलाइरहेका छन्। उनी समान्यको प्रशासनमा समेत मस्ती मार्ने सहसचिवमा पर्छन्।

प्रकाशमान सिंह सहरी विकासमन्त्री भएका बेला सहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भएर भित्रिएका सहसचिव नारायण प्रसाद मैनाली सुनिल लम्साल आउँदा पनि उक्त महाशाखा हेरिरहेका छन्। कांग्रेसी कर्मचारी भएकै कारण मैनाली प्रदेश नगई पहिलोपटक सहरीमा छिर्न सफल भए। उनीसँगै सहसचिव भएकाहरू प्रदेशतिर पेलानमा परेका छन्। मैनालीले भने सहरीको प्रशासन महाशाखामा रजगज गरिरहेका हुन्।

एमाले निकट सहसचिव सहसचिव थानप्रसाद पंगेनी अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको भूमिकामा छन्। उनी यहीँ बैशाख ११ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाँदैछन्। तुलानात्मक रूपमा उनी नरम कर्मचारीमा चिनिन्छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रशासन महाशाखा प्रमुख अनिता निरौला एमाले निकट कर्मचारी हुन्। एमालेबाट लाभ लिँदै आएकी सहसचिव निरौला व्यवस्थापनमा निकै कमजोर देखिएकी छिन्। सस्मित पोखरेल शिक्षामन्त्री भएपछि मन्त्रीको ‘नेम-प्लेट’ राख्नै उनले झन्डै १०० घण्टा लगाइन्। निरौलाबाट शिक्षा प्रशासन चल्न त्यति सहज छैन।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय प्रशासन तथा योजना महाशाखा प्रमुखको भूमिकामा चक्रबहादुर बुढा रहेका छन्। अनी माओवादी निकट सहसचिव हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रशासन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद अर्याल पनि एमालेबाट फाइदा लिने सहसचिवमा पर्छन्। अर्याल सत्ता र शक्ति निकट भएकै कारण प्रदेश गएका छैनन्। उनी पनि तत्काल प्रदेश पठाउनु पर्ने सहसचिवमा पर्छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रशासन हेर्ने सहसचिव जयनारायण आचार्य कांग्रेस निकट कर्मचारी हुन्। रमेश लेखक गृहमन्त्री हुँदा सबैभन्दा बढी फाइदा लिने सहसचिवमा आचार्य पर्छन्। यिनीहरूलगायत केही मन्त्रालयमा पुरानै सत्ता निकट सहसचिवहरूले प्रशासन महाशाखामा रजगज गरिरहेका छन्। बालेन सरकारले उनीहरूको पहिचान गरेर अन्य कार्यालयमा व्यवस्थापन गर्नुपर्ने देखिन्छ। अवसर नपाएका र क्षमता भएका सहसचिवहरूलाई पुराना सत्ताका कर्मचारी हटाएर जिम्मेवारी दिँदा बालेन सरकार सफल हुन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ