बुढानीलकण्ठमा सरकारी जग्गा हडपेका ल्यारक्याल लामाले लुम्बिनी विकास कोषको उपाध्यक्ष छाडेनन्
काठमाडौं। बुढानीलकण्ठमा २ रोपनी बढी सरकारी जग्गा हडपेका ल्यारक्याल लामाले बालेन सरकार आइसकेपनि ल्यारक्याल लामाले लुम्बिनी विकास कोषको उपाध्यक्ष पद छाडेका छैनन्। सरकारी जग्गा हडप्ने लामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संरक्षक रहेको लुम्बिनी विकास कोषको उपाध्यक्ष हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक नियुक्ति लिएका व्यक्तिहरूलाई मार्ग प्रशस्त गर्न आग्रह गरेपनि सरकारी जग्गा हडप्ने लामाले कोषको उपाध्यक्षबाट अहिलेसम्म राजीनामा नदिएका हुन्।
बालेन सरकारका १०० क्रियाकलापमा सरकारी जग्गामा अवैध कब्जा तत्काल हटाउने उल्लेख छ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीमा लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले २ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेका छन्। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित सिट नं. १०२०९०७-१० ९ साबिक चपली ‘क’ सिट नं. १९० को कित्ता नम्बर २६ को जग्गामा लामाले घर बनाएका छन्। उक्त कित्तासँगै जोडिएको २ रोपनी बढी सरकारी (पर्ति) जग्गा समेत लामाले कम्पाउण्डभित्र हालेर कब्जा गरेको पाइन्छ। लामाले सरकारी जग्गा र लुम्बिनी विकास कोषको उपाध्यक्ष पद ओगटेर बसेका छन्। सरकारी जग्गामा लामाले गरेको अवैध कब्जा र लुम्बिनी विकास कोषको उपाध्यक्षबाट लामालाई बालेन सरकारले एकसाथ हटाउनु पर्ने देखिन्छ।
दोहोरो नागरिकता, भारतीय रासनकार्ड/राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगीलगायत आधा दर्जन बढी आरोप लागेका लामा जुन सत्ता आएपनि लाभको पद लिनेमा पर्छन्। विवादका बाबजुद लामालाई तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएको थियो। २०७३ फागुन ३० मा उनको इन्भेस्टमेन्ट बैंकको लकरमा १४ थान गोली भेटिएपछि पक्राउ परेका २०७३ वैशाख ३० गते अकुत सम्पत्ति आर्जनमा मुद्दा चलेर सफाइ पाएका लामा लुम्बिनी जस्तो पवित्र संस्थामा राज गरेर बसेका छन्।
झलनाथ खनालले अर्थ राज्यमन्त्री बनाउँदा नै लामा निकै विवादित बनेका थिए। राजनीतिक आडमा सरकारी जग्गा कब्जा गरेका लामाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा समेत राजनीतिक नियुक्ति खान सफल भए। बालेन सरकारले उनलाई उपाध्यक्षको राजनीतिक नियुक्ति र अनधिकृत कब्जा गरेको सरकारी जग्गाबाट एकसाथ हटाउनु पर्ने समय आएको छ। लुम्बिनी विकास कोषको सदस्यसचिव बनेका दिपक श्रेष्ठ पनि विवादित पात्र हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस