गृह मन्त्रालयले बैतडी र जाजरकोटमा सहसचिव सिडिओ खटायो
काठमाडौं। गृह मन्त्रालयले दरबन्दी अनुसार बैतडी र जाजरकोटमा सहसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ। गृहले बैतडीको सिडिओमा सहसचिव डिजन भट्टराई र जाजरकोटको सिडिओमा सहसचिव खडानन्द अधिकारीलाई खटाएको हो।
गृह मन्त्रालयले उपसचिव सिडिओलाई झिकेर बैतडी र जाजरकोटमा हालै आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका भट्टराई र अधिकारीलाई सिडिओ खटाएको हो। १ महिना बढीदेखि गृहको जगेडामा सहसचिवद्वयलाई सिडिओ बनाएर पठाइएको छ।
बैतडीको सिडिओ रहेका उपसचिव कृष्ण थापालाई पर्साको सहायक प्रमुख जिल्ला अधिकारी र जाजरकोटको सिडिओ रहेका उपसचिव राजुप्रसाद पौडेललाई इलामको सहायक प्रमुख जिल्ला अधिकारीमा सरूवा गरिएको छ। संखुवासभाको सहायक प्रमुख जिल्ला अधिकारीमा भने सुमनकुमार कार्कीलाई खटाइएको हो।
कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुमन घिमिरेलाई गृह मन्त्रालय तानेर उक्त विभागको महानिर्देशकमा प्रकाश पौडेललाई पठाइएको हो। गृहमा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको कुर्सी खाली छ।
सहसचिवको दरबन्दी रहेका जुम्ला, अछाम र डोटीमा भने अझै उपसचिव सिडिओ छन्। गृह मन्त्रालयमा सहसचिव निश्चलराज पाण्डे र निराजन घिमिरे जगेडामा हुँदा पनि ती जिल्लामा उपसचिव सिडिओ रहेका हुन्। पाण्डे र घिमिरेलाई समेत तत्काल सहसचिवको दरबन्दी भएको जिल्लामा सिडिओ खटाउन आवश्यक छ।
क्याटेगोरी : समाचारट्याग : #खडानन्द अधिकारी, #डिजन भट्टराई


तपाईको प्रतिक्रिया दिनुहोस