स्वास्थ्यको एउटा नियुक्ति दबाउन मंगलबार खानेपानी मन्त्रालयमा जुटेका दुईमन्त्री


समाचार टिप्पणी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह मंगलबार खानेपानी मन्त्रालयमा जुटे। यी दुईमन्त्री देश र आमनागरिकको हितमा काम गर्न होइन एउटा नियुक्ति दबाउन खानेपानी मन्त्रालयमा जुटेका थिए। स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनित गरेकी सदस्य जुनु श्रेष्ठको नियुक्ति दबाउन उनीहरू जुटेका थिए। स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनित गरेकी जुनु श्रममन्त्री साहकी श्रीमती हुन्। उनको नियुक्ति विवादमा परेपछि त्यसलाई दबाउन मंगलबार खानेपानी मन्त्रालयमा दुईमन्त्रीले निकै मेहनत गरे।

नियुक्ति प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शाहले एक्सन लिने खतरा देखेपछि उक्त खतराबाट बच्न दुईमन्त्री खानेपानी मन्त्रालयमा जुटेका हुन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनले गलत काम गर्ने आफ्नै सचिवालयका कर्मचारीलाई निलम्बन गरेका थिए। श्रममन्त्रीको श्रीमती नियुक्तिको घटनामा पनि बालेनले त्यसैगरी एक्सन लिने खतरा देखेपछि प्रमाण मेटाउन दुईमन्त्री खानेपानी मन्त्रालयमा जुटेका हुन्।

स्वास्थ्य बीमा बोर्डको बैठकमा ३ पटकसम्म लगतार अनुपस्थित भए स्वतः पद रिक्त हुन्छ। ११ औं पटकसम्म पनि बोर्ड बैठकमा अनुपस्थित भएपछि बोर्डबाट जुनुलाई हटाइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मनोनित प्रतिनिधि बीमित जुुनु हटेपछि उक्त पद रिक्त थियो। तर, आईतबार बोर्डको कार्यालय बबरमहलमा बसेको बैठकमा जुनु सहभागी भइन्। उनलाई बोर्ड सदस्यको रूपमा स्वागत गरियो। राती ८ बजेसम्म बसेको बैठकले केही निर्णय समेत गरेको बीमा बोर्डका सदस्यहरू बताउँछन्।

स्वास्थ्य बीमा बोर्डको अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्री रहेका छन्। उनी एमाले नेता सूर्य थापा क्षेत्रीका सहोदर भाइ हुन्। थापाको नियुक्तिलाई लिएर नातावादको आरोपमा आलोचना हुँदै आएको छ। यसैबीच ‘जेन-जी’ आन्दोलनपछि बनेको सरकारका मन्त्रीले पनि त्यहीँ शैली अपनाएपछि व्यापक आलोचना भयो। बीमा बोर्डको बैठकमा जुनु मनोनित भएको समाचार सार्वजनिक भएपछि जुनुले स्वास्थ्य बीमा बोर्डको सदस्य सम्बन्धी आइरहेको खबर प्रति आफ्नो कुनै सम्बन्ध नरहेको र आफूले मनोनयन कुनै पत्र पनि नबुझेको भनेर प्रष्टीकरण दिइन्। तर, त्यहीँ पत्र दबाउन दुईमन्त्री मंगलबार खानेपानी मन्त्रालयमा बसेर निकै मेहनत गर्नुपऱ्यो। उनीहरूलाई पद जोगाउन हम्मेहम्मे पऱ्यो।

स्वास्थ्य लाइभले श्रममन्त्री साहकी श्रीमती जुनुको स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनर्नियुक्ति भएको विषयमा समचार सार्वजनिक गरेपछि स्वास्थ्य बिहान साढे ८ बजेतिरै स्वास्थ्य मन्त्रालयको चिकित्सा शाखामा रहेको उक्त टिप्पणी फाइल हतारहतार खानेपानी मन्त्रालय पुऱ्याइयो। फाइल खानेपानी मन्त्रालय पुगेपछि अलि ढुक्क भएकी जुनुले फेसबुकमा प्रष्टीकरण दिइन्। तर, त्यसले पनि उनी बोर्ड बैठकमा सहभागी भएको तथ्य छिप्न सकेन।

मनोनयन पत्र स्वास्थ्य बीमा बोर्डमा पुगेको थाहा पाएपछि बोर्डको कार्यकारी निर्देशकको भूमिकामा रहेका डा. कृष्ण प्रसाद पौडेल र सूचना अधिकारी विकेश मल्ललाई खानेपानी मन्त्रालय बोलाइयो। उनीहरूलाई उक्त पत्र दबाउन दुई मन्त्रीले प्रलोभन र दबाबमा दिएको बोर्डका अधिकारीहरू बताउँछन्। पौडेलमार्फत उक्त पत्र अध्यक्ष थापासमक्ष पुगेको थाहा पाएपछि उनीसँग समेत दुईमन्त्रीले कुरा गरेको स्रोतले बतायो। स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्तिका लागि निवेदन दिएकी जुनुले विवाद आएपछि नियुक्ति नगर्न अर्को निवेदन दिएकी छिन्। यसले पनि उक्त नियुक्ति दबाउन ठूलो कसरत भइरहेको सहजै अनुमान लगाउन सकिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक नियुक्ति खाएका पदाधिकारीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक नियुक्तिमा परिवारवाद हाबी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ। लामिछानेको आग्रह बमोजिम स्वास्थ्य बीमा बोर्डका अध्यक्ष थापा नहटी पदमै निरन्तरता पाए भने मंगलबारको सेटिङले सार्थकता पाएको प्रस्ट हुन्छ।

स्वास्थ्य बीमा बोर्डको सदस्यमा जुनुको मनोनयन प्रकरण समान्य कुरा होइन। बालेन सरकारले जुनुको नियुक्तिको विवादलाई गम्भीर रूपमा लिएर तत्काल छानबिन समिति बनाउनु पर्छ। सुशासनका लागि कठोर कदम चाल्न थालेको सरकारले कुशासनको यस्तो अवस्थालाई रोक्न समिति बनाएरै एक्सन लिनुपर्छ। ता कि भविष्यमा यस्तो कुरा नदोहोरियोस्।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ