औषधिका ‘विकल पौडेल’का रूपले परिचित नारायणप्रसाद ढकालले गरेको अनियमितताबारे संसद्मै उठ्यो कुरा


काठमाडौं। औषधि क्षेत्रका ‘विकल पौडेल’का रूपमा परिचित नारायणप्रसाद ढकालले गरेको अनियमिततामाथि संसद्‌मै कुरा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले औषधिमा गरेकाे अनियमितताको विषयमा छानबिन गर्न सदनमा आवाज उठाएका हुन्।

ढकालले वर्षौदेखि कानुन मिचेर आफूखुसी औषधिको मूल्यवृद्धि गरेको सांसद खत्रीको आरोप छ। सांसद खत्रीले औषधिको अनाधिकृत मुल्यवृद्धिलाई टेरामक्स, गिरीबन्धु, बालुवाटार, बाँसबारी टीकापुरलगायतका जग्गा कीर्तेसँग तुलना गरेका छन्। औषधिजस्तो संवेदनशील र अत्यावश्यक वस्तुको लुटमा छुट दिइएको खत्रीको तर्क छ।

टेरामक्स घोटालाका मुख्य योजनाकार विकल पौडेल हुन्। आईटीमा ब्रह्मलुट मच्चाएका विकल पौडेलसँग तुलना हुँदै आएका ढकालको विषय संसद्‌मा पुगेको छ। औषधि व्यवस्था विभागमा एकछत्र राज गरेका ढकालको आईटीमा विकल पौडेलभन्दा कम चलखेल छैन। लामो समयदेखि औषधि व्यवस्था विभागमा बसेर राज गर्दै आएका ढकालले विकललाई पनि माथ खुवाउने टिप्पणी हुँदै आएको छ।

महालेखा परीक्षक प्रतिवेदनमै औषधि व्यवस्था विभागका महानिर्देशक ५२ ब्राण्डको औषधिको मुल्य बढाएको देखिन्छ । २०७८ सालमा विभिन्न ७ वटा विदेशी कम्पनीका औषधिमा कम्तिमा २६.८८ प्रतिशतदेखि ३३.९९ प्रतिशतसम्म आफूखुसी मुल्यवृद्धि गरेको उल्लेख छ। आर्थिक वर्ष २०७६/०७७ मा विभागले नयाँ दर्ता तथा नवीकरण गर्दा विदेशी १९० वटा ब्राण्डको औषधि नवीकरण गरेकामा ८८ वटा ब्राण्डका औषधिहरुमा करिब ३४ प्रतिशतसम्म मुल्यवृद्धि गरेको प्रतिवेदनमा उल्लेख भएको विषयलाई सांसद खत्रीले जोडतोडले उठाएका हुन्।

विकलले आईटीमा अर्बौंको घोटाला गरेजस्तै औषधिमा ढकालले औषधिमा गरेको आरोप लागेको छ। २०७४ यता २०८२ को अन्तिमसम्म आइपुग्दा औषधिको नाममा कति लुट मच्चाइएको सांसद खत्रीको दाबी छ। ‘यो आठ वर्षमा ४ हजारभन्दा माथिका औषधि त्यसको मुल्यमा बढाएको प्रतिशत र नेपालमा भएको खपतलाई सिधा हिसाब गर्दा यो लाखौंमा होइन्, करोडौंमा होइन अर्बौमा घोटाला भएको प्रष्ट हुन्छ,’ सांसद खत्रीले भने, ‘यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार वर्षअघि उजुरी परेको थियो। जबकी ऐन विपरित औषधिको मुल्यवृद्धि गर्ने पदाधिकारीको कार्यलाई नियमसंगत मान्न नसकिने महालेखा परीक्षकको निष्कर्ष छ।’

औषधि ऐन, २०३५ मा कुनै औषधिको मुल्य तोक्न वा वृद्धि गर्नु परेमा औषधिको मुल्य अनुगमन समितिले औषधि परामर्श परिषद्लाई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सांसद खत्रीले अघि थपे, ‘परामर्श परिषद्ले मन्त्रिपरिषद्मा पठाई मन्त्रिपरिषद्बाट मुल्यवृद्धि स्वीकृत भएपश्चात उक्त नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ,‘तर, महानिर्देशकले नियमअनुसार नगरेको पाइएको छ।’, महानिर्देशकको अधिकार क्षेत्रभित्र नभएको कुरालाई ऐन मिच्दैं औषधिको मूल्य बढाउँदा नेपाली जनताले स्वास्थ्य उपचार गर्दा वर्षेनी अर्बौको भार खेप्नु परेको खत्रीको भनाइ छ।

नेपाली कांग्रेस निकट कर्मचारी ढकाल कांग्रेस सत्ताको आडमा औषधि व्यवस्था विभागमा एकछत्र राज गर्दै आएका छन्। जुन स्वास्थ्यमन्त्री आएपनि विकल पौडेलले जस्तै आफू अनुकूल घुमाउन सक्ने ढकालको खुबी छ। त्यहीँ खुबी देखाएर उनी लामो समयदेखि औषधि व्यवस्था विभागको महानिर्देशक भएर रजगज गरिरहेका छन्। चूडामणि शर्माका नातेदार समेत रहेका र उनकै पदचाप पछ्याउँदै आएका ढकालको विषयले संसद्मा प्रवेश पाएको हो।

आईटीका माफिया विकललाई अख्तियारले डामेपनि दर्जनौं उजुरी परेका औषधिका ढकाल अहिलेसम्म फुक्काफाल रहेका छन्। सांसद खत्रीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानमाथि समेत असन्तुष्टि व्यक्त गरेका छन्। प्रथम दृष्टिमा नै बदनियत देखिने यस्तो घोटालालाई अझै अनुसन्धानमा छ भन्नुले अख्तियारको कामप्रति पनि शंका उब्जाउने खत्रीको टिप्पणी छ। औषधिका विकल पौडेललाई अनुसन्धानको दायरामा नल्याउँदा आशंका उब्जिएको हो। औषधिका ढकालको विषयमा पनि विकल पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी जस्तै गम्भीर अनुसन्धान हुनुपर्ने आवाज उठ्न थालेको छ। विकल र प्रदिप जस्तै पात्र नारायण ढकाल भएकाले उनको विषयमा गम्भीर छानबिन हुनपर्ने आवज उठ्दै आएको हो। संसद्मा प्रवेश गरेको ढकालको विषयलाई अख्तियारले कसरी लिन्छ हेर्न बाँकी छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ