प्रधानमन्त्री बालेनको एक्सनपछि स्वास्थ्य मन्त्रालयमा उच्च पदस्थहरूको भागाभाग
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को एक्सनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भागाभाग भएको छ। स्वास्थ्य लाइभको प्रतिनिधि मन्त्रालय पुग्दा उच्च पदस्थहरू कोही पनि कुर्सीमा भेटिएनन्।
प्रधानमन्त्री बालेनले स्वास्थ्य बोर्डको सदस्यमा श्रममन्त्री दिपककुमार साहकी श्रीमती जुनु श्रेष्ठलाई पुनर्नियुक्ति दिएको विषयमा स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराएका छन्। श्रममन्त्री साहलाई बर्खास्त गर्दै प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्री निशालाई सचेत गराएका हुन्। बालेनले सचेत गराएकी निशा पनि मन्त्रालयको कुर्सीमा नभेटिएकी हुन्।
प्रधानमन्त्री बालेनले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई औषधिको मूल्यवृद्धि सम्बन्धमा मन्त्रालय तानिएका नारायणप्रसाद ढकालमाथि छानबिन गर्न निर्देशन दिएका छन्। स्वास्थ्य सचिव देवकोटा पनि मन्त्रालयको कुर्सीमा भेटिएनन्। निशालाई स्वास्थ्य बीमा बोर्डमा पठाउन सचिव देवकोटाले भूमिका खेलेको प्रधानमन्त्री कार्यालयकाे बुझाइ छ।
अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठ पनि मन्त्रालयमा भेटिएन्। स्वास्थ्य समन्वय प्रशासन, नीति, योजना कुनै पनि महाशाखा प्रमुख कार्यालयमा छैनन्। उपसचिव तह कै कर्मचारी पनि मन्त्रालयमा भेटाउन मुस्किल छ। नीति योजनाको बजेटमा केन्द्रित छन्। अन्यतिरका भने के गरिरहेका छन् पत्ता लगाउनै कठिन छ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यक्रममा गएको बताउँछन्। मन्त्रालय नै उल्टिएर उक्त कार्यक्रममा जानुले प्रधानमन्त्री कार्यालयमा समेत चर्चा पाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बढी बद्मासी हुने गरेको थाहा पाएपछि प्रधानमन्त्री बालेनको टिमले उक्त मन्त्रालयलाई उच्च निगरानीमा राखेको चर्चा छ। स्वास्थ्य मन्त्रालयमा व्यापक सुधार र शुद्धीकरणको पक्षमा प्रधानमन्त्री बालेन रहेको बताइन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस