‘जेन-जी’ कर्मचारीको नेतृत्व गरेका शाखा अधिकृत गणेश घिमिरेले दिए राजीनामा
काठमाडौं। ‘जेन-जी’ कर्मचारी रूपान्तरणमा अभियानको नेतृत्व गरेका शाखा अधिकृत गणेश घिमिरेले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेशकुमार घिमिरे समक्ष उनले पदबाट राजीनामा दिएका हुन्।
शाखा अधिकृत घिमिरेले बैशाख ७ गते (आजै)का मितिदेखि लागू हुनेगरी पदबाट स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्। राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगमा कार्यरत शाखा अधिकृत घिमिरेको केही समय अघि अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएको थियो। सरूवा भएको एकहप्ता पछि उनले पदबाट राजीनामा दिएका हुन्।
सार्वजनिक प्रशासन रूपान्तरण अभियानको नेतृत्व गरेका शाखा अधिकृत घिमिरेले निजामती प्रशासनमा दलीय ट्रेड युनियन खारेजीको एजेण्डा लिएर मैदानमा उत्रिएका थिए। घिमिरे नेतृत्वको अभियानले जेनजी आन्दोलन दमनमा भूमिका खेल्ने तत्कालीन मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडीलगायतको राजीनामा समेत मागेका थिए। जेनजी आन्दोलनपछि बनेको सरकारको पालामा उनको अछाममा सरूवा गरिएको थियो। सरूवाप्रति असन्तुष्टि जनाउँदै शाखा अधिकृत घिमिरेले राजीनामा दिएको स्रोतले बतायो।
करिब १ वर्ष सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत समेत भएर काम गरिसकेका घिमिरे कर्मचारीलाई ‘कुलिङ अफ पिरियड’ लगाउनु पर्छ भन्ने पक्षमा आवाज उठाउँदै आएका थिए। निजामती सेवा कानुन आएपछि पदबाट राजीनामा दिने बताउँदै आएका शाखा अधिकृत घिमिरेले त्योभन्दा अगाडि नै पदबाट राजीनामा दिएका छन्। १५ वर्ष बढी निजामती सेवामा विताएका घिमिरेले राजीनामा दिएर जागिर छाडेका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस