रामआधार साहसहित यी हुन् चालू आर्थिक वर्षमा अवकाशमा जाने विशिष्टहरू


काठमाडौं। चालू आर्थिक वर्षमा मात्र ८ जना विशिष्ट श्रेणीका कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन्। मुख्यसचिव समुनराज अर्यालदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्रप्रसाद नेपालसम्म चालू आर्थिक वर्षभित्रै अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन्। विज्ञान तथा प्रविधि सचिव रामआधार साह आजबाटै अनिवार्य अवकाशमा जाने भएका हुन्।

विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामआधार साह ५८ वर्ष पूरा भएर आजबाट अनिवार्य अवकाशमा जाँदैछन्। २०७९ मंसिरमा सचिवमा बढुवा भएका विवादित पृष्ठभूमिका साह साढे ३ वर्ष सचिव चलाएर ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। खानेपानी मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकायमा बसेर विवादित काम गरेका सचिव साह ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। रामआधारले अवकाश पाउदा मुलुकले ठूलो राहत महसुस गरेको हुनुपर्छ।

न्याय परिषद्का सचिवालयका सचिव जितेन्द्रबाबु थपलिया ५८ वर्ष पूरा भएर बैशाख १९ गते अनिवार्य अवकाशमा जाँदैछन्। असोजमा सचिवमा बढुवा भएका थपलिया १ वर्ष पूरा नगरी घर जान लागेका हुन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा हेर्ने सचिव चिरञ्जीवी चटौत असार १४ गते अनिवार्य अवकाशमा जाँदैछन्। असोजमै सचिव भएका चटौत १ वर्ष पनि सचिवको भूमिकामा काम नगरी चालू आर्थिक वर्षभित्रै घर जान लागेका हुन्।

नेपाल ट्रष्टको कार्यालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य असार १६ गते ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाने सूचीमा छिन्। उनी अवकाशमा गएसँगै उक्त कार्यालयको विषयमा आवश्यक निर्णय लिन बालेन सरकारलाई सहज हुनेछ। निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटी पनि ५ वर्षे कार्यकाल पूरा गरेर असार २० गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी उद्योगबाट हालै निर्वाचन आयोग सरूवा भएका सचिव हुन्। अब उनी त्यतैबाट अवकाश हुने सम्भावना छ।

उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्ण असार २३ गते अनिवार्य अवकाशमा जाने भएका छन्। उनी ५ वर्ष सचिव चलाएर अवकाशमा जान लागेका हुन्। अर्थ, सामान्य प्रशासन, श्रम जस्ता मन्त्रालयमा बसेर रजगज गरेका सचिव कर्ण उपराष्ट्रपति कार्यालय पुगेका हुन्। दिपक भट्टको डिजाइनमा सिसि क्यामेराको मुसाले तार काटेपछि राजस्व सचिव रहेका कर्णलाई जनार्दन शर्माले अर्थ सचिव बनाएका थिए। उनै सचिव कर्ण अवकाशको मुखमा पुगेका छन्।

मुख्यसचिव सुमनराज अर्याल असार २५ गते अनिवार्य अवकाशमा जाँदैछन्। सुमनपछि किरणराज शर्मा, राजकुमार श्रेष्ठ, रामेश्वर दंगाललगायत मुख्यसचिव बन्ने सम्भावित सूचीमा छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल ५ वर्ष एउटै कुर्सीमा बसेर असार २७ गते अनिवार्य अवकाशमा जाँदैछन्। फरक क्षमता भएका नेपाललाई विशेष दरबन्दी सिर्जना गरेर सचिवमा बढुवा गरेकाले उनी घर गएसँगै त्यो पद स्वतः खारेज हुनेछ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ