मिडिया आचारसंहिता र उजुरी प्रक्रियाबारे कन्सल्टेन्सीसँग काउन्सिलको छलफल
काठमाडौं । प्रेस काउन्सिल नेपाल मा शैक्षिक परामर्शदाता (एजुकेशनल कन्सल्टेन्सी) सम्बद्ध संस्था तथा सञ्चालकहरूसँग मिडिया सामग्री, आचारसंहिता र उजुरी प्रक्रियाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका अध्यक्ष तथा काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्य ले पत्रकारिताबाट कसैको पनि मानमर्दन नहोस् भन्नेमा काउन्सिल सजग रहेको बताए । उनले पत्रकार आचारसंहिताको पूर्ण पालना सबैको दायित्व भएको उल्लेख गर्दै स्व–अनुगमनलाई थप सुदृढ बनाइने जानकारी दिए।
काउन्सिलका बोर्ड सदस्य पदमराज जोशीले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सहकार्य आवश्यक रहेको बताए ।
अन्तरक्रियामा सहभागीहरूले पछिल्लो समय केही अनलाइन मिडियाबाट तथ्यहीन, एकपक्षीय तथा असन्तुलित सामग्री प्रकाशित हुँदा आफूहरू पीडित भएको गुनासो गरेका छन्। विज्ञापनको नाममा बार्गेनिङ गर्ने र नदिँदा नकारात्मक समाचार प्रकाशन गर्ने धम्कीसमेत आएको दाबी उनीहरूको छ।
यस्ता गतिविधिबाट भएको क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाउँदै सहभागीहरूले आधारहीन समाचार प्रकाशन गर्ने सञ्चारमाध्यममाथि कडा कारबाही र कानुनी व्यवस्था थप बलियो बनाउन माग गरेका छन्।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले आचारसंहिताविपरीत सामग्री आए काउन्सिलमा उजुरी दिन आग्रह गरे । साथै, महाशाखा प्रमुख रामशरण बोहराले उजुरी सुनुवाइ प्रक्रियाबारे जानकारी गराए। कार्यक्रमको सहजिकरण मिडिया अनुगमनकर्ता प्रकाश शर्माले गरेका थिए ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस