मन्त्रालयको प्रशासन महाशाखामा रजगज गरिरहेका तरमारा सहसचिवहरू प्रदेश पठाइए


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख पार्वती शर्माको मधेश प्रदेश सरूवा भएको छ। बागमती प्रदेशमा सरूवा हुँदा एमालेको सत्ता दुरूपयोग गरेर सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखामा पुगेकी तरमारा सहसचिव पार्वतीलाई बालेन सरकारले मधेश प्रदेश पठाएको हो। प्रदेश जान नमानेर सेटिङ हान्ने एमाले सत्ताकी तरमारा सहसचिव पार्वती बालेन सरकारको फेला परेकी हुन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन महाशाखा प्रमुख नारायणप्रसाद अर्याल पनि प्रदेश सरुवा भएका छन्। सिंहदरबारभित्रै रजगज गर्दै आएका सहसचिव अर्याल लुम्बिनी प्रदेश सरूवा भएका हुन्। एमाले सत्तामा रमाइरहेका अर्याल प्रदेश जानु परेकै थिएन। बालेन सरकारले उनलाई प्रदेश जाने अवसर दिएको छ।

सहरी विकास मन्त्रालयका विवादित सहसचिव नारायणप्रसाद मैनालीको बागमती प्रदेश सरूवा भएको छ। सहसचिव हुनेबित्तिकै सहरी विकास मन्त्रालयको प्रशासन महाशाखामा तरमार्न पुगेका सहसचिव मैनालीलाई बालेन सरकारले प्रदेशको अनुभव बटुल्न प्रदेश पठाएको हो। तत्कालीन सहरी विकास मन्त्री सिता गुरुङको निजी सचिव हुँदै सहसचिव भएपछि सहरी विकास मन्त्रालयको प्रशासन हाँक्न पुगेका मैनाली गर्मी लागेपछि हेटौंडातिर लागेका हुन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी सहसचिव अनिता निरौला पनि प्रदेश सरूवा भएकी छिन्। शिक्षा मन्त्रालयको प्रशासन महाशाखा प्रमुख निरौला बागमती प्रदेश सरूवा भएकी हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनी कुमारी श्रेष्ठको कर्णाली प्रदेशमा सरुवा भएको छ। उनी प्रशासन महाशाखा हेर्दै आएकी थिइन्।

पूर्वस्वास्थ्य सचिव लक्ष्मण अर्यालकी श्रीमती निता पोखरेल अर्याल लुम्बिनी प्रदेश पुगेकी छिन्। दिल्ली राजदूतावास बसेर तरमारेर आएकी नितालाई लुम्बिनी प्रदेश पठाइएको हो। उक्त हुलमा सहसचिव राजेश्वर ज्ञवाली भने छुटेका छन्।

आन्तरिक राजस्व विभाग (आईआरडी)का महानिर्देशक मदन दाहालसहित अर्थ मन्त्रालय वा अन्तर्गतका निकायबाट ५ सहसचिव प्रदेश पठाइएका छन्। अर्थ मन्त्रालयको वित्तीय संघीय महाशाखा प्रमुख सेवन्तक पोखरेल र मधेश प्रदेश, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख महेश बराल मधेश प्रदेश सरुवा भएका छन्। अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई बागमती र महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रक सुशीला अर्याल लुम्बिनी प्रदेश सरूवा भएकी छिन्। अर्थ मन्त्रालयबाट एकैपटक ५ सहसचिव बाहिरिएका हुन्। दिपक भट्ट कनेक्सनका कारण अर्थबाट एकैपटक ठूूलो संख्यामा सहसचिवहरू निकालिएका हुन्।

भक्तपुर, सिन्धुपाल्चोक र डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गृह मन्त्रालयबाट सकसाथ बाहिरिएका छन्। तीनवटै जिल्लाका सिडिओ प्रदेश सरूवा भएका हुन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल बागमती प्रदेश, सिन्धुपाल्चोकका सिडिओ रामकृष्ण अधिकारी र डडेल्धुराका सिडिओ विष्णुप्रसाद कोइराला कोशी प्रदेश सरूवा भएका छन्।

लामो समयदेखि राजनीतिक पहुँचका भरमा विकृतिलाई बढावा दिन र संरक्षण गर्न शक्तिशाली अड्डाहरूमा मात्र एकछत्र राज गरेका जो कोही भए पनि आँखा चिम्लेर न्याय गर्नेगरी बालेन सरकारले गरेको यो निर्णयले निजामती सेवामा शुद्धीकरणको थालनी भएको बुझिएको छ। सुशासन, विकास र समृद्धिको अभियानमा अघि बढेको जेनजी सरकारले यत्तिको निर्ममता देखाउन जरूरी पनि छ। अब सरूवा भएकालाई जतिसक्दो चाँडो नयाँ जिम्मेवारी सम्हाल्न पठाउन संघीय मामिला र सम्बन्धित मन्त्रालयका सचिवले कत्तिको तदारूकता देखाउँछन् हेर्न बाँकी छ। सरकारका सकारात्मक पहलमा सघाउ गर्ने वा अवरोध गर्ने हरेक तह तप्काका जिम्मेवार पदाधिकारीको निगरानी गर्न पनि उत्तिकै जरूरी देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ