सरूवा उल्ट्याएर सामान्य प्रशासन मन्त्रालय पुगेका सहसचिवद्वय निता र पार्वतीलाई पठाइयो प्रदेश
काठमाडौं। २०८२ साल साउनमा निता पोखरेल अर्यालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पार्वती शर्मा बागमती प्रदेशमा सरूवा भएको थियो। उनीहरूको सरूवाको मसी सुक्न नपाउँदै उल्ट्याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका थिए। सरूवा भएको ठाउँमा हाजिर नै नभइ उनीहरू सत्ता र शक्तिको आडमा सामान्य प्रशासन मन्त्रालय पुगेका थिए। अहिलेको सरकारले सामान्य प्रशासन मन्त्रालयमा रजगज गरिरहेका सहसचिवद्वय निता र पार्वतीलाई प्रदेश पठाएको छ। भगवती न्यौपानेसँग सेटिङ मिलाएर सामान्यमा ‘सेटल’ भएका उनीहरूलाई प्रदेश पठाइएको हो।
निताको निर्वाचन आयोगबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरूवा भएको थियो। उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जान नमानेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेकी थिइन्। आन्तरिक व्यवस्थापन महाशाखा हुँदै योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख बनेकी निता लुम्बिनी प्रदेशतिर सरूवा भएकी हुन्। पूर्वस्वास्थ्य सचिव लक्ष्मण अर्यालकी श्रीमती समेत रहेकी निता निर्वाचनबाट स्वास्थ्यमा सरूवा भएपछि एमाले सत्ताको ‘पावर’ लगाएर सामान्य प्रशासन मन्त्रालयमा पुगेकी थिइन्। शंकर ‘ग्रुप’ निकट लक्ष्मण बिचौलिया दिपक भट्ट पक्राउ परेपछि शक्ति प्रदर्शन गर्न छाडेका छन्। उनी कमजोर भएपछि निताको प्रदेशतिर सरूवा भएको हो।
स्वास्थ्य मन्त्रालय जान नमानेकी निता ३ वर्ष भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा ‘इकोनोमिक मिनिस्टर’ बनेर मस्ती मारेकी थिइन्। निर्वाचन आयोगबाट रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जान अनइच्छा देखाएर उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेकी थिइन्। सरकारले अहिले भने सहसचिव नितालाई घर पायक लुम्बिनी प्रदेश पठाइदिएको छ।
मध्यस्तरीय करदाता कार्यालय बबरमहलको हाकिम रहेकी पार्वती शर्माको बागमती प्रदेश सरूवा भएको थियो। उनीपनि नितासँगै मन्त्री भगवती न्यौपानेसँग सेटिङ मिलाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेकी थिइन्। प्रदेशमा हाजिर नभइ सामान्य प्रशासन मन्त्रालयको कर्मचारी सरूवा गर्ने महाशाखाको कमाण्ड सम्हाल्न पुगेकी पार्वतीलाई सरकारले मधेश प्रदेश पठाएको छ। जनकपुरकी पार्वतीलाई बालेन सरकारले घर पायक सरूवा गरेर पठाएको हो।
लामो समयदेखि राजनीतिक पहुँचका भरमा विकृतिलाई बढावा दिन र संरक्षण गर्न शक्तिशाली अड्डाहरूमा मात्र एकछत्र राज गरेका जो कोही भए पनि आँखा चिम्लेर न्याय गर्नेगरी बालेन सरकारले गरेको यो निर्णयले निजामती सेवामा शुद्धीकरणको थालनी भएको बुझिएको छ। सुशासन, विकास र समृद्धिको अभियानमा अघि बढेको जेनजी सरकारले यत्तिको निर्ममता देखाउन जरूरी पनि छ। अब सरूवा भएकालाई जतिसक्दो चाँडो नयाँ जिम्मेवारी सम्हाल्न पठाउन संघीय मामिला र सम्बन्धित मन्त्रालयका सचिवले कत्तिको तदारूकता देखाउँछन् हेर्न बाँकी छ। सरकारका सकारात्मक पहलमा सघाउ गर्ने वा अवरोध गर्ने हरेक तह तप्काका जिम्मेवार पदाधिकारीको निगरानी गर्न पनि उत्तिकै जरूरी देखिन्छ।
पुरानो सत्तामा जस्तो निता र पार्वतीले सरूवा उल्ट्याउन सफल भए भने यो सरकार असफल बन्ने खतरा देखिन्छ। त्यसैले उनीहरूलाई तत्काल रमाना दिएर सरूवा भएको ठाउँमा पठाउनु पर्छ। अनी मात्र सुशासनले सार्थकता पाउँछ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस