पर्यटन मन्त्रालयले क्यानको महानिर्देशक र निगमको सदस्य खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दै
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक र नेपाल बायु सेवा निगमको सदस्य खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै दुबै निकायमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागेको हो।
भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका क्याका महानिर्देशक प्रदिप अधिकारीको ४ वर्षे कार्यकाल सकिएसँगै मन्त्रालयले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागेको हो। क्यानको महानिर्देशकका लागि योग्यता पुगेका नेपाल सरकारको सेवामा वा क्यानको इच्छुक उम्मेदवारले ७ दिनभित्र मन्त्रालयमा आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।
त्यस्तै पर्यटन मन्त्रालयले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्य ४ सदस्य पनि खुला प्रतिस्पर्धाबाट छनौट गर्ने भएको हो। निगमको सदस्यका लागि वाणिज्य, अर्थ तथा लेखाशास्त्रमा ख्यातिप्राप्त वा उड्डयन तथा पर्यटन प्रवर्द्धनसम्बन्धी अनुभव प्राप्त इच्छुक उम्मेदवारहरूले ७ दिनभित्र आवेदन दिन सक्ने जनाएको हो
पर्यटन मन्त्रालयले क्यानको महानिर्देशक र निगमको रिक्तको पदपूर्ति प्रक्रिया एकैपटक अघि बढाएको हो। हाल क्यानको निमित्त महानिर्देशक देवचन्द्रलाल कर्ण रहेका छन्। उनले पनि महानिर्देशक बन्न प्रतिस्पर्धा गर्न पाउनेछन्।
पर्यटन मन्त्री खड्गराज पौडेल (गनेस)ले यसपटक क्यानको महानिर्देशकको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट हुने बताउँदै मन्त्रीको खल्तीबाट टपक्क झिकेको नामबाट नहुने टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘प्रतिस्पर्धाका सबै चरणहरू पारदर्शी र पक्षपात रहित हुनेछन। अब चाकरी गरेर या दलको झोला बोकेर नियुक्ती खाने दिन गए । योग्यता र इमान्दारीको कसीमा पास हुनुस् ! बस !’,
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस