जडीबुटीकी पूर्वमहाप्रबन्धक यादवसहित बागमती सभ्यताको अध्यक्षमा ३ जनाको नाम सिफारिस 


काठमाडौं। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी पूर्वमहाप्रबन्धक संगिता यादवसहित तीन जनाको नाम अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा नियुक्तिका लागि सिफारिस भएको छ। सिफारिस हुनेमा सिरहाकी यादवसहित कास्कीका डा. विकास अधिकारी र बैतडीका डा. आनन्द सिंह भाट रहेका छन्। उनीहरूमध्ये एकजनालाई सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा नियुक्त गर्नेछ।

प्रकाशमान सिंह उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री हुँदा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएर ‘ढुस’ भएको थियो। त्यतिबेला काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ का दीपकप्रसाद कुइँकेल, विराटनगर-१० का पंकजकुमार दास र बर्दियाको राजापुर  नगरपालिका-१ का मोहनराज जोशीको नाम सिफारिश गरेको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषदमा पुग्नेबित्तिकै जेनजी आन्दोलनले ‘कोमा’मा पुगेपछि कुलमान घिसिङ मन्त्री बनेपछि अर्को सूचना निस्किएको थियो। दोस्रोपटक अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा नियुक्तिका लागि यादव, अधिकारी र भाटको नाम सिफारिस भएको हो।

व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तामा उपस्थित १२ जनाको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनाको मूल्यांकन, प्रस्तुतीकरण तथा अन्तर्वार्तासमेतको मूल्यांकनका आधारमा योग्यताक्रम अनुसार तीन जना उम्मेदवार सिफारिस गरिएको सिफारिस समितिले जनाएको छ। आगामी मन्त्रिपरिषद्को बैठकले एकजनालाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा नियुक्त गर्नेछ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ