सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बने उपमहानिर्देशक ढकाल
काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकालले पाएका छन्। विभागको उपमहानिर्देशकको भूमिकामा रहेका ढकाललाई महानिर्देशक बनाइएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर विवादमा तानिएर अर्थ मन्त्रालय पुगेपछि महानिर्देशक पद रिक्त थियो। रिक्त महानिर्देशक पदमा सोही विभागका उपमहानिर्देशक ढकाललाई जिम्मेवारी दिइएको हो। अर्थमन्त्रीस्तरीय निर्णयबाट उनी विभागको महानिर्देशक बनेका हुन्।
अघिल्लो राजस्व समूहको उपसचिवबाट सहसचिवमा बढुवा भएका ढकालको पहिलो पदस्थापन नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको उपमहानिर्देशकमा भएको थियो। विभागमा उपमहानिर्देशक नै नचाहिने अवस्थामा उनलाई पठाइएको थियो। दिपक भट्ट ग्याङको अनुसन्धानमा राम्रो भूमिका खेलेका कारण ढकाललाई महानिर्देशकको जिम्मेवारी दिइएको स्रोतले बतायो।
ढकाल राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्षको भूमिकामा समेत रहेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस