राप्ती प्रतिष्ठानको अतिक्रमित जग्गामा रहेका भूमिहीनको बसोबासका लागि ५-५ धुर घडेरी दिने
काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमित जग्गामा रहेका भूमिहीनको बसोबासका लागि ५-५ धुर घडेरी दिने निर्णय भएको छ। प्रतिष्ठान र कटुवा खोलाबीचको करिब डेढ बिघा जग्गामा अतिक्रमण गरि बसोबास गर्ने करिब १६० घर परिवारमध्ये वास्तविक भूमिहीनहरूको हकमा व्यवस्थित बसोबासको लागि स्थानान्तरण गर्न प्रत्येक परिवारलाई ५-५ धुर घडेरी दिने सम्बन्धी विकल्प अगाडि सारिएको हो।
प्रतिष्ठानका नि. उपकुलपति प्रा. श्याम लम्साल र नवलपुर बहुउद्देश्यीय सरोकार समिति तथा अम्बापुर जग्गा एकीकरण आयोजनाका अध्यक्ष बलिभद्र रानाबीच भएको सम्झौतामा उक्त कुरा उल्लेख छ।
‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कटुवा खोलाबीच रहेको प्रतिष्ठानको जग्गामा रहेको करिव १६० घरधुरीको बसोबासमा रहेका वास्तविक भूमिहीन सुकुम्बासी पहिचान गरि निजहरूलाई व्यवस्थित बसोबास गराउन नवलपुर बहुउद्देश्यीय सरोकार समितिले अम्बापुर जग्गा एकीकरण आयोजना मातहतको जग्गा मध्येबाट प्रत्येक घरधुरीलाई ५-५ धुरको दरले घडेरी उपलब्ध गराउने’, सम्झौता भएको हो।

भूमिहीनलाई जग्गा दिएको स्थानमा बाटो, बिजुली, खानेपानी लगायतको सुविधा व्यवस्थित गर्न घोराही उपमहानगरपालिका, प्रदेश सरकार र संघ सरकारसँग नवलपुर बहुउद्देशीय सरोकार समितिले पहल गर्ने सम्झौता भएको छ। जग्गा अतिक्रमण भइ अबैध बसोबास भएको कारण प्रतिष्ठानको भौतिक संरचना विस्तार, फोहोर व्यवस्थापन, पार्किङ व्यवस्थापन लगायतमा गम्भीर असर परेको भनि प्रतिष्ठानले अतिक्रमण हटाउन सरकारलाई निरन्तर रूपमा गुहारिरहेको छ। वास्तविक भूमिहीन सुकुम्बासीलाई व्यवस्थापन गरेर प्रतिष्ठानको नाममा रहेको अतिक्रमित संरचनामा डोजर लगाउने निर्णय भएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस