नदी किनारका अनधिकृत तथा जोखिमपूर्ण बस्ती खाली गराउन भोलि साँझसम्म समय


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदी किनार क्षेत्रमा रहेका अनधिकृत तथा जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न बिहीबार साँझसम्मको समय दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको एक सूचना जारी गर्दै नदी किनारका अनधिकृत तथा जोखिमपूर्ण बस्ती खाली गर्न निर्देशन दिएको हो। १८ गतेबाट त्यस्ता अतिक्रमण हटाउने अभियान सुरू हुने प्रशासनले सूचना दिएको छ।

नदी किनारका बाढी, डुबान, कटान तथा मानवीय क्षतिको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको जनाएको छ। बागमती, विष्णुमती, मनोहरा लगायत नदी तथा खोलानालाका किनारमा अनुमति बिना निर्माण गरिएका टहरा, अस्थायी घर तथा अन्य संरचनाहरू तोकिएको समयभित्र हटाउन आग्रह गरिएको हो। प्रशासनले यस्ता क्षेत्रहरू वर्षायाममा अत्यधिक जोखिममा पर्ने भएकाले समयमै सुरक्षित स्थानमा सर्न समेत अनुरोध गरेको छ।

प्रशासनले अटेर गरी नहटे कानुन बमोजिम बल प्रयोग गरी संरचना हटाइने तथा आवश्यक कारबाही गरिने चेतावनी समेत दिएको छ। साथै, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायहरूसँग समन्वय गरेर अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ