सामान्य प्रशासनमा प्रशासन र आन्तरिक व्यवस्थापन हेर्ने एउटै सहसचिव, रक्षा र गृहमा दुईजना
समाचार टिप्पणी
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रशासन र आन्तरिक व्यवस्थापन महाशाखा हेर्नेगरी एउटै सहसचिवलाई जिम्मेवारी दिइएको छ। सहसचिव धोलकराज ढकालले नै दुईवटा महाशाखा सम्हाल्न थालेका छन्। तर, रक्षा र गृह मन्त्रालयमा प्रशासन र आन्तरिक व्यवस्थापन हेर्ने सहसचिव दुईजना रहेको पाइन्छ।
रक्षाको प्रशासन महाशाखा हेर्ने सहसचिव मनोजकुमार आचार्य छन्। प्रशासन महाशाखा हेर्ने सहसचिवले नै व्यवस्थापन महाशाखा हेर्न सक्नेमा दरबन्दी बढाएर राज्यलाई अतिरिक्त भार बोकाउन सहसचिव ज्ञानेन्द्र पौडेललाई व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। एउटै सहसचिवले सजिलैसँग प्रशासन र व्यवस्थापन महाशाखा हेर्न सक्ने भएकाले ती दुई महाशाखा ‘मर्ज’ गरेर सहसचिव पौडेललाई अन्यत्र सरूवा व्यवस्थापन गर्न जरूरी छ।
गृह मन्त्रालयमा पनि प्रशासन र व्यवस्थापन महाशाखा फरक-फरक सहसचिवले हेर्ने गरेका छन्। गृहको प्रशासन महाशाखा प्रमुखको कमाण्ड सहसचिव कालीप्रसाद पराजुलीले सम्हालिरहेका छन्। गृहमन्त्री रमेश लेखक हुँदा काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहेका ऋषिराम तिवारीले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख भएर काम गरिरहेका छन्। आन्तरिक व्यवस्थापन महाशाखाका सहसचिव तिवारीलाई अन्यत्र सरुवा व्यवस्थापन गरेर प्रशासन हेर्ने सहसचिवलाई नै आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिन उपयुक्त हुन्छ।
अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य, शिक्षा, भूमि व्यवस्था, पर्यटन, कृषि, सहरी, भौतिक पूर्वाधार तथा यातायात, श्रम, सञ्चार, परराष्ट्र, उद्योगलगायतका अधिकांश मन्त्रालयमा प्रशासन र आन्तरिक व्यवस्थापन महाशाखा एउटै सहसचिवले हेर्ने भएकाले रक्षा र गृहमा दुई सहसचिवलाई फरक-फरक महाशाखाको जिम्मेवारी दिएर अनावश्यक दरबन्दी कायम गरेर राज्यलाई अतिरिक्त व्यभार थपिरहन जरूरी छैन। अहिले रक्षा र गृह मन्त्रालय दुबै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कमाण्डमा रहेकाले एक एक्सनमा दुई महाशाखालाई एक बनाएर काम तमाम गर्न सहजै सकिन्छ। पहुँचवालालाई व्यवस्थापन गर्न बनाइएको व्यवस्थापन महाशाखा प्रशासनमा गाभेर बालेन सरकारले सुशासन कायम गर्न जरूरी देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस