यी हुन् खारेज भएका कर्मचारी ट्रेड युनियनहरू
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले १ दर्जन कर्मचारी ट्रेड युनियन खारेज गरिदिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज भएको घोषणा गरेको छ। बालेन सरकारले जारी गरेको अध्यादेश अनुसार विभागले कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय लिएको हो।
निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत विभागमा दर्ता भई क्रियाशिल रहेका सम्पूर्ण राष्ट्रियस्तरका ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेको हो।

विभागको निर्णय अनुसार खारेजीमा पर्ने राष्ट्रियस्तरका निजामती कर्मचारी संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन (दर्ता नम्बर २१४), नेपाल निजामती कर्मचारी युनियन (दर्ता नम्बर २१५), नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (दर्ता नम्बर २२१), नेपाल मधेशी निजामती कर्मचारी मञ्च (दर्ता नम्बर २३१) रहेका छन्। नेपाल स्वास्थ्यकर्मी संघ (दर्ता नम्बर २७२), मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल (दर्ता नम्बर २८४), एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल (दर्ता नम्बर ५२३) र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल (दर्ता नम्बर ५७०) रहेका छन्। नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९२ क (१) बमोजिम दर्ता भएर स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका राष्ट्रिय स्तरका ट्रेड युनियनहरू नेपाल स्वास्थ्यकर्मी युनियन (दर्ता नम्बर ३६०), स्वास्थ्यकर्मी युनियन नेपाल (दर्ता नम्बर ३६१), राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल (दर्ता नम्बर ३६४) र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन (दर्ता नम्बर ५५२) खारेजीमा परेका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस