तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानबाट नेकपा एमालेको पार्टी कार्यालय हटाइँदै


काठमाडौं। तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानबाट नेकपा एमालेको पार्टी कार्यालय हटाइने भएको छ। २०५८ चैतमा तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानका लागि मन्त्रिपरिषद्बाट निर्णय गराएर १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गा भोगाधिकारमा लिइएको थियो। भोगाधिकारमा लिएको उक्त जग्गा लिजमा परिणत नगरेपछि सरकारले खाली गराउन सूचना निकालेको छ। सरकारको सूचनासँगै नेकपा एमालेले पनि उक्त प्रतिष्ठानबाट पार्टी कार्यालय हटाउनु पर्ने भएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा र उक्त जग्गामा बनेको सरंचना खाली गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ। उक्त सूचनाले तुलसीलाल स्मृति प्रतिष्ठानको भवन समेत खाली गराउनु पर्ने भएको हो। उक्त भवन खाली गराउँदा नेकपा एमालेको पार्टी कार्यालय पनि हट्ने भएको छ।

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन)को दफा २१ को उपदफा (२)बमोजिम साविकमा भोगाधिकार पाएका पक्षहरूलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो । तर, उक्त म्यादभित्र निवेदन नदिने व्यक्ति, संस्था वा निकायहरूको हकमा भोगाधिकारको कानुनी हैसियत स्वतः समाप्त भइसकेको मन्त्रालयले जनाएको छ ।

भूमि मन्त्रालयले जारी गरेको सूचनामा भोगाधिकार समाप्त भइसकेका जग्गा र त्यसमा निर्माण गरिएका भौतिक संरचनाहरू यथाशीघ्र खाली गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ। उक्त सूचनाले तुलसीलाल स्मृति प्रतिष्ठानमा रहेको नेकपा एमालेको पार्टी कार्यालय पनि खाली गराउनु पर्ने अवस्था आएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ