पद छाड्न नपर्नेले दिए राजीनामा, छाड्नुपर्नेहरू अझै ‘लिसोझैँ’ पदमा
काठमाडौं । सरकारले अध्यादेशमार्फत एकैपटक १ हजार ५९४ जना पदाधिकारीलाई पदमुक्त गरेपछि स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढेको छ। तर, केही पदाधिकारी अझै पद नछाडी ‘लिसोझैँ’ टाँसिएर बसेको भन्दै आलोचना बढ्न थालेको हो।
यसबीच सरकारलाई सहयोग गर्ने उद्देश्यले वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी अस्पतालका निर्देशकले राजीनामा दिन अनिवार्य थिएन। तर, डा. शर्माले भने आफूले नैतिक जिम्मेवारीबोध गर्दै सरकारलाई सहज बनाउन राजीनामा दिएको बताए। ‘कसै न कसैले नैतिकता देखाउँनुपर्छ’, निर्देशक शर्माले भने।

तर, राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने केही पदाधिकारी भने अझै पदमै कायम रहेका छन्। नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिश देव अझै पदमा ‘लिसोझैँ’ टाँसिएर बसेका छन्। नियमावली छुट्दा पद जोगिएका देवले अहिलेसम्म पद छाड्ने संकेत दिएका छैनन्। बरु आफूले राम्रो काम गरेका कारण सरकारले निरन्तरता दिएको दाबी गर्दै आएका छन्।
उता, नेपाल फार्मेसी काउन्सिलका रजिस्ट्रार सञ्जीवकुमार पाण्डेय पनि सुरुवातमा पदमुक्तिको दायराबाट बाहिर परेका थिए। तर, उनले नैतिकताको आधारमा राजीनामा दिइसकेका छन्। यसले डा. देवमाथि थप प्रश्न उठाएको छ।

यस्तै, चिकित्सा शिक्षा क्षेत्रअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डिनसहित केही पदाधिकारी पनि अझै पदमा कायम छन्। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संरक्षणमा पद जोगाउने प्रयास भइरहेको चर्चा स्वास्थ्य वृत्तमा चल्न थालेको छ। आईओएमकाे डिन माेहन शर्मा लगायतका पदाधिकारीले अहिलेसम्म पद छाडेका छैनन्।
सरकारले सार्वजनिक निकायमा नयाँ नेतृत्व ल्याउने तयारी गरिरहेका बेला कतिपय पदाधिकारीको पदमा बसिरहने प्रवृत्तिले नैतिकता र जिम्मेवारीबारे प्रश्न उठाएको छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस