खोटाङको हलेसीले जस्तै अन्य स्थानीय तहले पनि काठमाडौंबाट विस्थापित भएका नागरिकलाई आफ्नै ठाउँमा व्यवस्थापन गर्न सक्ला?
काठमाडौं। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ।सङ्घीय सरकारले काठमाडौँ उपत्यका तथा अन्य जिल्लाका अतिक्रमित बस्तीका संरचना हटाउने अभियान सञ्चालन गरेपछि विस्थापित भएका नगरवासीलाई आफ्नै गाउँ फर्किएर बसोबास गर्न चाहेमा सहयोग गर्ने निर्णय गरेको हो।
नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आफ्नो गाउँ फर्किन इच्छुक नगर क्षेत्रका नागरिकलाई आफ्नै जग्गामा घर निर्माणमा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख विमला राईले जानकारी दिइन्। “सरकारले देशभरका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणमुक्त बनाउने अभियान सञ्चालन गरेको छ”, मेयर राईले भनिन्, “त्यस क्रममा विस्थापित भएका नगरवासीलाई सम्मानपूर्वक जीवनयापनका लागि आफ्नै ठाउँमा फर्कन आह्वान गरेका छौँ।’,
आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जस्तै अन्य स्थानीय तहले पनि जोखिमपूर्ण क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई गाउँ फर्क अभियान नै सञ्चालन गरेर व्यवस्थापन गर्ने नीति अख्तियार लिँदा सुकुम्बासी समस्याको एक हदसम्म समाधान हुने देखिन्छ। बसोबासको व्यवस्थापन गरेर त्यहाँ रहेका जग्गा जमिन भूमि बैंकमा राखेर गिरिखाने वर्गलाई ‘लिज’मा उपलब्ध गराएर जिविकोपार्जन गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ।
हलेसी तुवाचुङ नगरपालिकाले चालेको कदम एकदम सह्रानीय रहेको छ। आफ्नो नागरिकको व्यवस्थापन स्थानीय तहले ध्यान दिने र अन्य पूर्वाधार विकास गर्दै जाने हो भने सहरबाट विस्थापित नागरिकलाई गाउँ/नगरमै पुनर्स्थापित गर्न सकिन्छ। हलेसीको नीतिलाई अन्य स्थानीय तहले पनि अबलम्बन गर्न जरूरी छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस