बालेन सरकारले काठमाडौं उपत्यकामा भूमाफियाले खाएको ५५ रोपनी जग्गा फिर्ता ल्याउँदै
काठमाडौं। बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले काठमाडौं उपत्यकामा मात्र रोपनी जग्गा फिर्ता ल्याउने भएको छ। बालेन सरकारले मोहनरमण भट्टराईको नेतृत्वमा गठित सरकारी सार्वजनिक गुठी जग्गा हिनामिन छानबिन आयोगको प्रतिवेदन, २०७६ कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। बालेन सरकारको उक्त निर्णयसँगै काठमाडौं उपत्यकामा मात्र भूमाफियाले खाएको झन्डै ५५ रोपनी जग्गा सरकारको नाममा फिर्ता आउने प्रक्रिया अघि बढेको हो।
काठमाडौं। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कांग्रेसमा ‘भूमिनेता’का रूपमा परिचित पूर्वभूमिमन्त्री स्वःजगन्नाथ आचार्यले कर्लप्पै खाएको हनुमन्ते खोला फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ। पूर्वभूमिमन्त्री आचार्यले कर्लप्पै खाएको हनुमन्ते खोलाको झन्डै १८ रोपनी जग्गा फिर्ता ल्याउने प्रक्रिया बालेन सरकारले अघि बढाएको हो।
भक्तपुर जिल्ला साबिक दिव्यश्वरी र बालकोट गाविस सीमाना भई बग्ने हनुमन्ते खोला (हाल मध्यपुर ठिमी-३ सागबारी)को कित्ता नम्बर १०१२ को १७ रोपनी १४ आना जग्गा पूर्वमन्त्री आचार्यले दुषित दर्ता गराएका थिए। खोलाको जग्गा कर्लप्पै खाने आचार्य गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था मन्त्री भएका थिए। उनी तत्कालीन प्रधानमन्त्री कोइरालासँग कुरा नमिलेपछि २ वर्ष नपुग्दै मन्त्री पदबाट राजीनामा दिएर हिँडेका थिए। उनै भूमिमन्त्री आचार्यले हनुमन्ते खोला हडपेर १७ रोपनी १४ आना दुषित दर्ता गराएको जग्गा फिर्ता ल्याउने प्रक्रिया बालेन सरकारले अघि बढाएको हो।
काठमाडौं महानगरपालिका वडा नम्बर ४ चण्डोलस्थिल गुहेश्वरी बोर्डिङ स्कुलले खाएको ४ रोपनी जग्गा १४ आना जग्गा पनि नेपाल सरकारकोको नाममा फिर्ता आउने भएको छ। बालेन सरकारको एक्सनसँगै पर्ती गौचरको जग्गा दुषित दर्ता गरेर खाने गुहेश्वरी बोर्डिङ हाईस्कुलले खाएको झन्डै ५ रोपनी जग्गा नेपाल सरकारको नाममा फिर्ता आउने भएको हो।
काठमाडौंको काभ्रेस्थलीमा कित्ता नम्बर २७ को ८ रोपनी १० आना २ पैसा सरकारी जग्गा हरिप्रसाद शर्मा र त्रिलोचन शर्मा मिलेर खाएको भट्टराई आयोगको निष्कर्ष रहेको छ। बालेन सरकारको एक्सनपछि भूमाफियाले खाएको उक्त सरकारी जग्गा नेपाल सरकारको नाममा फिर्ता आउने भएको हो।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ लक्ष्मीनारायण मन्दिरको गुठी जग्गा हिनामिना भएको आयोगको प्रतिवेदन छ। कित्ता नम्बर ५५ को क्षेत्रफल ३ रोपनी ६ आना ३ दाम २ पैसा गोपाल प्रसाद श्रेष्ठले हिनामिना गरी दर्ता गरेको आयोगको ठहर रहेको पाइन्छ। उक्त जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढेको हो।
काठमाडौंको बौद्धमा भूमाफिया होमबहादुर थापा र टेकबहादुर थापाले १६ रोपनी १५ आना २ दाम सार्वजनिक जग्गा दुषित दर्ता गरेर खाएको पाइएको छ। बालेन सरकारले उक्त जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको हो।
भक्तपुरको झौखेलस्थित प्राचीन कमलपोखरी भूमाफियाहरूले गायब पारेको तथ्य फेला परेको हो। २०२१ सालको नापीमा कमलपोखरी जनिएको भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर ३ साबिक झौखेल वडा नम्बर ८ को कित्ता नम्बर ५९५ को जग्गा नानीवेटी लौब र रामभक्त लौवको नाममा हुँदै विभिन्न व्यक्तिको नाममा पुगेको पाइएको छ। कमलपोखरीको ६ आना ७ पैसा १ दाम क्षेत्रफल जग्गा व्यक्ति विशेषको नाममा दर्ता भएको खुल्न आएको हो। उक्त जग्गा पनि बालेन सरकारले फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ। बालेन सरकारले भट्टराई आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै काठमाडौं र भक्तपुरमा मात्र झन्डै ५५ रोपनी जग्गा सरकारको नाममा फिर्ता आउने भएको हो।


तपाईको प्रतिक्रिया दिनुहोस