अख्तियार प्रमुख प्रेम राईको हत्या गर्ने योजना बनाउने प्रदीप अधिकारीविरूद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारी, प्रकाश पाठक र अर्का एक जनाविरुद्ध संगठित अपराध, आपराधिक लाभ (एक्स्टोर्सन), हुन्डी कारोबार तथा विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
अनुसन्धान अनुसार ‘EGN’ नामक समूहको नाम प्रयोग गर्दै सामाजिक सञ्जाल, भिडियो तथा विभिन्न माध्यममार्फत अख्तियार प्रमुख राईलाई धम्की दिइएको आरोप छ। प्रहरीको दाबी अनुसार उक्त गतिविधिमा प्रकाश पाठकको मुख्य भूमिका रहेको र त्यसमा अधिकारीको समेत संलग्नता देखिएको छ।
प्रहरीले यसअघि पाठकलाई इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको थियो। उनीमाथि विभिन्न व्यक्तिलाई धम्की दिएको आरोपमा यसअघि पनि अनुसन्धान चलिरहेको थियो।यो प्रकरण सार्वजनिक भएसँगै उच्च तहका सरकारी अधिकारीमाथि हुने धम्की, संगठित साइबर गतिविधि तथा शक्ति दुरुपयोगबारे पुनः बहस सुरु भएको छ।
प्रहरीले अर्जुन बहादुर शाही, नविन बस्नेत, जगदम्बे गुरु भन्ने सरया किन्नेरा, प्रमोद सेढाई, चाँदमाला श्रेष्ठ, जेनु थापा, रवि सिंघल लगायतलाई भने मुद्दा नचलाउने भएको हो। उनीहरुविरुद्ध प्रमाण थप भेटिएमा कारबाही गर्ने भनिएको छ। यसमा प्रश्न भने उठेका छन्।





तपाईको प्रतिक्रिया दिनुहोस