महिला आयोगमा तमासा : नारायणहिटीस्थित भवनमा कार्यालय सार्न प्रधानमन्त्रीको निर्देशनपछि अध्यक्ष सम्पर्कविहीन !


काठमाडौं । संवैधानिक निकाय राष्ट्रिय महिला आयोग भित्र अध्यक्ष र सदस्यबीचको तिक्तताले अहिले संस्थाभित्रै तमासापूर्ण अवस्था सिर्जना भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भाडाको भवन छाडेर सरकारी भवनमा सर्न ५ दिनको समय दिएपछि आयोगभित्र विवाद चर्किएको हो । अध्यक्ष कमला पराजुली र सदस्य कृष्णकुमारी पौडेलबीचको तिक्तताले कर्मचारी चेपुवामा परेका छन् ।

स्रोतका अनुसार आयोगले हाल राष्ट्रिय समाचार समिति र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई वार्षिक करिब १ करोड रुपैयाँ भाडा तिर्दै आएको छ । उक्त आर्थिक भार घटाउन आयोगलाई सरकारी भवनमा सार्ने पहल सदस्य पौडेलले विगतदेखि नै गर्दै आएकी थिइन् । तर अध्यक्ष पराजुलीले त्यसमा सहयोग नगरेको आरोप स्रोतको छ ।

प्रधानमन्त्री कार्यालयले वैशाख २२ गते परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै साविकको राहदानी विभाग रहेको नारायणहिटीस्थित भवन ५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।

राहदानी विभाग त्रिपुरेश्वर सरेपछि खाली रहेका कोठामा राष्ट्रिय महिला आयोगलाई स्थानान्तरण गर्ने तयारी गरिएको थियो । पुराना कागजात तालाबन्दी गरेर राखिएको भन्दै ती सामग्री अन्यत्र व्यवस्थापन गरी आयोगलाई भवन उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।
तर, स्रोतका अनुसार अध्यक्ष पराजुलीले उक्त निर्देशनप्रति असहमति जनाउँदै राहदानी विभागको भवन ‘लैङ्गिक मैत्री नभएको’ भन्दै सम्पर्कविहीन बनेकी छन् । आयोगका कर्मचारीले पटक–पटक सम्पर्क गर्न खोज्दा समेत उनको अत्तोपत्तो नभएको कर्मचारीहरूको भनाइ छ । प्रधानमन्त्री कार्यालय र सदस्य पौडेलले प्रस्ताव गरेको भवनमा आफू नजाने अध्यक्षको अडान रहदै आएको थियो ।

 

समन्वय अभावकै कारण आयोगको सामान बोकेर गएको गाडीलाई समेत साविक राहदानी विभाग परिसरभित्र प्रवेश गर्न प्रहरीले रोकेको छ । प्रहरीले लिखित अनुमति पत्र मागे पनि आयोगलाई कुनै मन्त्रालयले औपचारिक पत्र उपलब्ध नगराइएको कारण समस्या उत्पन्न भएको कर्मचारीहरू बताउँछन् ।
“विगतमा पत्रका भरमा काम हुँदै आएको थियो,” आयोगका एक कर्मचारीले भने, “अहिले स्पष्ट आदेश र समन्वय बिना काम गर्नुपर्ने अवस्था आएको छ । अध्यक्ष नै सम्पर्कविहीन भएपछि झन् समस्या भएको छ ।”

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##राष्ट्रिय महिला आयोग

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ