पूर्वगृहमन्त्री गुरुङमाथि छानबिन गर्न भण्डारीको नेतृत्वमा बन्यो समिति


काठमाडौं। सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनेको हो।

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारी अध्यक्ष तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङ्गका सम्बन्धमा सार्वजनिकरुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

विवादमा परेपछि गृहमन्त्री गुरुङले पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले नै अहिले गृह मन्त्रालयको कमाण्ड सम्हालिरहेका छन्। गुरूङमाथि छानबिन समिति गठन भएपछि उक्त समितिको सिफारिसका आधारमा थप प्रक्रिया अघि बढाइने बुझिएको छ। समितिका अध्यक्ष भण्डारीले सत्य निरूपण तथा मेलमिलाप आयोगको सदस्यबाट पदमुक्त हुनेबित्तिकै नयाँ जिम्मेवारी पाएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ