विपद्को पूर्वसन्ध्यामा ललितपुर, सिन्धुपाल्चोक र डडेल्धुरा सिडिओविहीन


काठमाडौं। बाढीपहिरो र विपद्का घटना सुरू हुने समयमा ललितपुर, सिन्धुपाल्चोक र डडेल्धुरा प्रमुख जिल्ला अधिकारी (सिडिओ)विहीन भएका छन्। सिन्धुपाल्चोक र डडेल्धुरा दुई हप्तादेखि र ललितपुर एक हप्तादेखि सिडिओविहीन अवस्थामा रहेका छन्।

ललितपुरको नख्खु खोलाले मान्छे बगाएर तत्कालीन गृहमन्त्री रमेश लेखकको चर्को आलोचना भएको थियो। ललितपुर अहिले त जिल्ला विपद् व्यवस्थापन समितिको संयोजक हुने सिडिओ नै एक सातादेखि रिक्त रहेको पाइन्छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई ५८ वर्ष उमेर हदका कारण वैशाख २५ गतेदेखि अनिवार्य अवकाशमा गएपछि उक्त जिल्ला सिडिओविहीन भएको हो। गृह मन्त्रालयको प्रशासनिक नेतृत्वको विपद्को पूर्वसन्ध्यामा ललितपुरमा सिडिओ खटाउन सकेको छैन।

विपद्का हिसाबले निकै जोखिमपूर्ण जिल्लामा मानिने सिन्धुपाल्चोक दुई सातादेखि सिडिओविहीन अवस्थामा रहेको पाइन्छ। सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी कोशी प्रदेश सरूवा भएर गएपछि उक्त जिल्ला सिडिओविहीन भएको हो। विपद्को जोखिममा रहेको उक्त जिल्लामा पनि गृह मन्त्रालयले सिडिओ पठाउन सकेको छैन।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी सरूवा भएर कोशी प्रदेश पुगेपछि उक्त जिल्ला पनि सिडिओविहीन अवस्थामा रहेको देखिन्छ। गृह मन्त्रालयले डडेल्धुरा सिडिओ पठाउन नसक्दा प्राकृतिक विपद् र राजनीतिक आपत्तिमा समस्या पर्न सक्ने अवस्था आउन सक्छ। त्यसैले ती जिल्लामा सिडिओ खटाउन ढिलाइ गर्नु हुँदैन।

भक्तपुरका सिडिओ उमेशकुमार ढकाल बागमती प्रदेशमा सरूवा भएका छन्। उनले अहिलेसम्म रमाना लिएका छैनन्। गृह मन्त्रालयले अर्को सिडिओ नपठाउँदा ढकाल रमाना नलिइ बसेका हुन्। सरूवा भइसकेका सिडिओले जोखिम उठाउन खासै तयार नहुने हुँदा भक्तपुरमा पनि तत्काल नयाँ सिडिओ खटाउन जरूरी छ। सिडिओ नहुँदा भैपरी आउने समस्या समाधान गर्न चुनौतीपूर्ण हुन्छ। त्यसैले गृहले रिक्त जिल्लामा तत्काल सिडिओ खटाउन कदम चाल्नुपर्ने देखिन्छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग समेत नेतृत्वविहीन अवस्थामा रहेको छ। विभागका महानिर्देशक नमराज घिमिरे मुस्लिम आयोगमा सरूवा भएपछि उक्त विभाग नेतृत्वविहीन अवस्थामा पुगेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ