पदमुक्त भएका लुम्बिनी कोषका उपाध्यक्ष ल्यारक्याल लामाले गाडी फिर्ता नगरेपछि गुहारियो प्रहरी
काठमाडौं। पदमुक्त भएका लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले सरकारी गाडी फिर्ता नगरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रहरी गुहारेको तथ्य फेला परेको छ। लामालाई गाडी फिर्ता गर्न पटकपटक ताकेता गर्दा पनि गाडी फिर्ता नगरेपछि प्रहरीले गुहारिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।
बालेन सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षबाट सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएर पदमुक्त गरिदिएको थियो। अध्यादेशबाट स्वतः पदमुक्त भएका लामाले बा १ झ ८१८६ नम्बरको ल्याण्डक्रुजर प्राडो गाडी फिर्ता गर्न अटेरी गरेपछि मन्त्रालयले प्रहरी गुहारेको पाइएको हो। लुम्बिनी विकास कोषको उपाध्यक्षबाट पदमुक्त भएका लामाले बिलासी र महँगो मूल्यको सरकारी ल्याण्डक्रुजर प्राडो गाडी फिर्ता नगरी दुरूपयोग गरेकाले मन्त्रालयले प्रहरीको सहयोग मागेर नियन्त्रणमा लिन खोजेको छ। लामासामु कुनै जोर नचलेपछि गाडी फिर्ता ल्याउन पर्यटन मन्त्रालयले प्रहरीलाई गुहारेको देखिन्छ। जुन अवस्थामा भएपनि लामाले दुरूपयोग गरिरहेको उक्त गाडी फिर्ता ल्याउन पर्यटन मन्त्रालयले गृह मन्त्रालयलाई पत्र काटेको हो।
लुम्बिनी बिकास कोष ऐनले सदस्यसचिवलाई कार्यकारी अधिकार दिएकोमा बिनियमावलीमा उपाध्यक्षलाई समेत कार्यकारी अधिकार प्रदान गरेको र अदालतले उपाध्यक्ष कार्यकारी नहुने भनि आदेश दिएको थियो। तर, कोषका पदमुक्त भएका उपाध्यक्ष ल्हारक्याल लामाले जवर्जस्ती कार्यकारी अधिकार प्रयोग गरि ३ वटा सवारी साधन प्रयोग गर्दै आएका छन्। पदमुक्त भएपछि लामाले ३ वटा गाडीमध्ये २ वटा कोषमा फिर्ता गरे। सबैभन्दा राम्रो प्राडो गाडी फिर्ता नगरी दुरूपयोग गरेपछि पर्यटन मन्त्रालयले गृह मन्त्रालयमा पत्राचार समेत गरेको बुझिएको छ। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेका लामाले सरकारी गाडी अनधिकृत रूपमा कब्जा गरेर मस्ती गरिरहेको पाइएको हो। कुनै बेला प्रधानमन्त्रीले प्रयोग गर्दै आएको बा १ झ ८१८६ नम्बरको प्राडो ल्याण्डक्रुजर ल्यारक्याल लामाले प्रयोग गरिरहेको खुलेको छ। उक्त विषयमा समेत खोजबिन हुन जरूरी छ।
लामाले सरकारी गाडी मात्र होइन सरकारी जग्गा पनि हडपेका छन्। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित सिट नं. १०२०९०७-१० ९ साबिक चपली ‘क’ सिट नं. १९० को कित्ता नम्बर २६ को जग्गामा लामाले घर बनाएका छन्। उक्त कित्तासँगै जोडिएको २ रोपनी बढी सरकारी (पर्ति) जग्गा समेत लामाले कम्पाउण्डभित्र हालेर कब्जा गरेको पाइन्छ। लामाले सरकारी जग्गाको शैलीमा लुम्बिनी विकास कोषको गाडी हडपेका छन्। लामाले दुरूपयोग गरेको गाडी फिर्ता ल्याउन पर्यटन मन्त्रालयले सक्रियता देखाइसकेको छ। गृह मन्त्रालयले लामाले हडपेको सरकारी गाडी र जग्गा एकसाथ फिर्ता ल्याउन एक्सन लिनुपर्ने देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #उपाध्यक्ष पदमुक्त, #लुम्बिनी विकास कोष, #ल्यारक्याल लामा


तपाईको प्रतिक्रिया दिनुहोस