गृहलाई पत्राचार गरेपछि लुम्बिनी विकास कोषका पदमुक्त उपाध्यक्ष लामाले बुझाए गाडी


काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेपछि लुम्बिनी विकास कोषका पदमुक्त उपाध्यक्ष ल्यारक्याल लामाले गाडी बुझाएका छन्। लामाले प्रयोग गरिरहेको बा १ झ ८१८६ नम्बरको सरकारी प्राडो ल्याण्डक्रुजर बरबुझारथ गरेको लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव ज्ञानिन राईले जानकारी दिए। लामाले बुझाएको उक्त गाडी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको कोषले जनाएको छ।

बालेन सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षबाट सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएर पदमुक्त गरिदिएको थियो। अध्यादेशबाट स्वतः पदमुक्त भएका लामाले बा १ झ ८१८६ नम्बरको ल्याण्डक्रुजर प्राडो गाडी फिर्ता गर्न अटेरी गरेपछि मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। जुन अवस्थामा भएपनि लामाले दुरूपयोग गरिरहेको उक्त गाडी फिर्ता ल्याउन पर्यटन मन्त्रालयले गृह मन्त्रालयलाई पत्र काटेको देखिन्छ। प्रहरीले गाडी थुत्ने अवस्था आएपछि लामाले दुरूपयोग गरिरहेको गाडी हतारहतार फिर्ता गरेका हुन्।

लुम्बिनी बिकास कोष ऐनले सदस्यसचिवलाई कार्यकारी अधिकार दिएकोमा बिनियमावलीमा उपाध्यक्षलाई समेत कार्यकारी अधिकार प्रदान गरेको र अदालतले उपाध्यक्ष कार्यकारी नहुने भनि आदेश दिएको थियो। तर, कोषका पदमुक्त भएका उपाध्यक्ष ल्हारक्याल लामाले जवर्जस्ती कार्यकारी अधिकार प्रयोग गरि ३ वटा सवारीसाधन प्रयोग गर्दै आएका थिए। पदमुक्त भएपछि लामाले ३ वटा गाडीमध्ये २ वटा कोषमा फिर्ता गरे। सबैभन्दा राम्रो र महँगो प्राडो गाडी फिर्ता नगरी दुरूपयोग गरेपछि पर्यटन मन्त्रालयले गृह मन्त्रालयमा पत्राचार गरेको पाइन्छ। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेका लामाले सरकारी गाडी दुरूपयोग गरेको घटना सार्वजनिक भएपछि उनले गाडी बुझाएका हुन्।

लामाले सरकारी गाडी मात्र होइन सरकारी जग्गा पनि हडपेका छन्। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित सिट नं. १०२०९०७-१० ९ साबिक चपली ‘क’ सिट नं. १९० को कित्ता नम्बर २६ को जग्गामा लामाले घर बनाएका छन्। उक्त कित्तासँगै जोडिएको २ रोपनी बढी सरकारी (पर्ति) जग्गा समेत लामाले कम्पाउण्डभित्र हालेर कब्जा गरेको पाइन्छ। लामाले सरकारी गाडी फिर्ता गरेपनि सरकारी जग्गा भने कब्जा गरिरहेका छन्। पर्यटन मन्त्रालयको सक्रियतापछि लामाले गाडी फिर्ता गरेका हुन्। गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामाले हडपेको सरकारी जग्गा फिर्ता ल्याउन एक्सन लिनुपर्ने देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ