निजामती अस्पतालमा बेथिति नै बेथिति: औषधिदेखि रिएजेण्ट खरिदसम्ममा अनियमितता


काठमाडौं। निजामती कर्मचारी अस्पतालमा अनियमितता र बेथितिको चाङदेखिएको छ। महालेखापरीक्षकको कार्यालयका ६२ औं प्रतिवेदनमा निजामती कर्मचारी अस्पतालमा अनियमितता श्रृंखला देखाएको हो। महालेखापरीक्षकको कार्यालयले औषधिदेखि रिएजेण्ट खरिदसम्ममा अनियमितता भएको औंल्याएको हो।

महालेखापरीक्षकको कार्यालयका अनुसार निजामती कर्मचारी अस्पतालमा २ करोड १८ लाख मूल्य बराबरको औषधिको म्याद गुज्रिएको देखिन्छ। म्याद गुज्रेका औषधिहरू फिर्ता नगरेर अस्पतालले बदमासी गरेको पाइन्छ। औषधि सम्झौताको सर्तअनुसार सम्बन्धित आपूर्तकर्तालाई फिर्ता गरी भुक्तानी समायोजन गर्नुपर्ने अन्यथा धरौटीबाट कट्टा गरेको प्रमाण पेस गर्नुपर्ने थियो। तर, अस्पताल फार्मेसी उक्त सम्झौता बमोजिम एक्सन नलिँदा अस्पतालमा करोडौंका औषधिको म्याद ग्रुजिएको खुल्न आएको हो।

अनियमित तरिकाले ३२ करोड बढीको रिएजेण्ट खरिद

निजामती कर्मचारी अस्पतालले ३२ करोड १० लाखको रिऐजेण्ट अनियमित तरिकाले खरिद गरेको खुल्न आएको हो। अस्पतालले विगतमा खरिद गरेका ल्याब मेसिनहरूमा सोही कम्पनीका ल्याब किटका सामानमात्र प्रयोग हुने कारण जनाइ बन्द सामग्री (क्लोज आइटम) ३२ करोड १० लाख रुपैयाँको खरिद गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धालाई निषेध गरिएको रिएजेण्ट खरिदमा ८ करोड ६ लाख रुपैयाँ भुक्तानी गरिएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष देखिन्छ।

निजामती कर्मचारी अस्पतालले गरेको अक्सिजन प्लान्टलगायत अन्य मेडिकल उपकरण खरिदमा पनि महालेखाले पश्न उठाएको छ। मर्मतसम्भार गर्नुपर्ने उपकरण मर्मतसम्भार नभएको र मौज्दातमा रहेका उपकरण प्रयोगमा नल्याउँदा सेवाप्रवाहमा असर परेको महालेखापरीक्षकको कार्यालयले जनाएको हो। महालेखापरीक्षकको कार्यालयले सेवा प्रवाह र जनशक्ति व्यवस्थापनमा पनि प्रश्न उठाएको हो।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ